सिन्धुली– सिन्धुलीमा एक प्रधानाध्यापकमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका ६ स्थित धाप्सेमा मकवानपुरको बागमती गाउँपालिका १ बोटगाउँका ४० वर्षिय प्रेम बहादुर बम्जनमाथि अज्ञात समुहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभएको छ ।
प्रदेश २–०३–००६ प ८५५४ नम्बरको मोटरसाइकलमा सवार बम्जनको दाँतमा गोली अड्कीएको डिएसपि खड्काले बताउनुभयो । डिएसपि खड्काले भन्नुभयो, ‘हेलमेट छेडेर दाहिने तर्फको दाँतमा गोली अड्कीएको छ ।’ मोटरसाइकलमा बम्जन र उनका ३३ वर्षिय भाई दिल बहादुर बम्जन सवार रहेको डिएसपि खड्काले जानकारी दिनुभयो । मोटरसाइकलमा सवार दिल बहादुर भने सकुशल रहेको डिएसपि खड्काले बताउनुभयो । सिन्धुलीबाट सर्लाहीतर्फ जादैँ गरेका बम्जनलाई तीनजनाको समुहले बाटो ढुकेर गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपि खड्काले बताउनुभयो । घट्ना पश्चात जिल्लाका नाकाहरु सिल गरि कडाईका साथ चेकजाँच भइरहेको डिएसपि खड्काले जानकारी दिनुभयो ।

घाइते बम्जर मकवानपुरको बकैया गाउँपालिका ३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनलाई उपचारकालागि विरगंज लगिएको डिएसपि खड्काले सिन्धुली सौगातलाई बताउनुभयो ।