सिन्धुली – सिन्धुलीको जुनार यात्रुको मुख्य कोसेली बनेको छ । रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाइमा समेत पर्न थालेको छ । बीपी राजमार्ग हुँदै आउजाउ गर्नेलार्ई सोध्नै पर्दैन, कोसेली के छ ? किनभने उनीहरुको झोलामा जुनार त हुन्छ नै । चाहे चाडपर्वमा मूल घर जाँदा होस् वा घरबाट कार्यथलो फर्कंदा । वा कामकाजले कतै जाँदा होस्, या त कतैबाट आउँदा होस् । कोसेलीको रुपमा जुनार बोक्ने चलन व्यापक हुँदै गएको छ । बिपी राजमार्ग हुदै हुँदै यात्रा गर्नेहरुलाई यो रसिलो, सजिलो र छरितो कोसेली भएको छ । त्यसैले त ओहोरदोहोरको क्रममा उनीहरु दुई–चार केजी भए पनि जुनार बोक्न छुटाउँदैनन् । जुनारले जिल्लाको गोलन्जार गाउँपालिका ५ खनियाखर्क बजार पहेलपुर भएको छ । विपी राजमार्ग छेउमा बिक्रीका लागि राखिएपछि पहेलपुर भएको हो ।
काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ । खनियाँखर्कमा केही बेर विश्राम गर्न रोकिएका यात्रु अहिले जुनार किन्न तँछाडमछाड गरिरहेको दृश्य रोचक देखिन्छ । यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडाँै र भारतका विभिन्न सहरसम्म निकै लोकप्रियता पाएको छ । राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा जुनारले त्यस क्षेत्रमा राम्रो बजार पाएको छ । पुर्वी तराईका विभिन्न जिल्लाबाट यहि राजमार्ग हुदै काठमाडौं आवात जावत गर्ने दैनिक हजारौ साना ठूला सवारीका यात्रुनै जुनारको मुख्य ग्राहक हुन् । बस माइक्रोबसदेखि अन्य साना गाडीले खनियाखर्कमा यात्रुलाई जुनार किन्नकै लागि केहि समय रोकिदिने गरेकाले समेत खनियार्क बजार जुनारले भरिएको छ । रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाइमा समेत पर्न थालेको छ ।
विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रीका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन् । खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन् । किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् । खनियखर्कमा हाल ८० देखि ९० रुपैया पूति किलोसम्ममा जुनारको कारोबार भइरहेको छ ।
महाभारत क्षेत्रका किसानलाई जुनार टिपेर बजारमा पु¥याउन अहिले भ्याइनभ्याइ छ । यस क्षेत्रका गाउँबस्तीका बारी र बगैँचा अहिले जुनार पाकेर पहेँलपुर देखिएको छ । किसानका अधिकांश बगैँचामा अहिले जुनार लटरम्म देखिन्छन् । जिल्लाको रतनचुरा, जलकन्या, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, वासेश्वर, तोसङखेला क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोनअन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । जिल्लाको महाभारत क्षेत्रको ठूलो भूभागमा जुनारका अतिरिक्त सुन्तला, कागती, निबुवा र ज्यामिर उत्पादनका लागि उर्वर भूमि मानिन्छ । जिल्लामा वार्षिक एक लाख बढी जुनार सुन्तला बिक्री गर्ने किसानको संख्या दुई हजार बढी छ । एउटा वयस्क बोटमा एक हजारदेखि एक हजार ५०० दानासम्म जुनार उत्पादन हुने गर्दछ । जिल्लामा एउटै बोटमा छ हजार दानासम्म फलेको रेर्कड छ ।
सिन्धुलीका अतिरिक्त उदयपुर, ओखलढुंगा, भोजपुर, धनकुटा र रामेछापमा व्यावसायिकरूपमा जुनार खेती विस्तार हँुदै गएको छ । सिन्धुली जिल्लामा अहिले वार्षिकरूपमा ५० करोड मूल्य बराबरको जुनार उत्पादन हुने गरेको छ । उत्पादित मध्ये धेरै ताजा फल र ताजा जुसको रूपमा प्रयोग हँुदै आएको छ भने कम गुणस्तरका केही प्रतिशत मात्रै प्रशोधन हुने गरेको बताइन्छ । सिन्धुलीका ९ वटै स्थानीय तहमा आंशिकरूपमा जुनार खेती हुँदै आएको छ । पछिल्लो समय विभिन्न संक्रमणले फल कुहिने समस्याले किसानमा जुनार नै मासिने हो कि भन्ने त्रास फैलिएको छ । जिल्लामा कुल १३४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएकोमा ७२५ हेक्टर उत्पादनशिल क्षेत्र रहेको तथ्यांक छ ।