सिन्धुली – दुधौली नगरपालिका ५ का मुकेश दनुवार भुइँमा खसेको धानको बाला टिपेर बोरामा राख्दै हुनुहुन्छ । धान काट्ने बेला उहाँ बाला बटुल्न बाध्य हुनुहुन्छ । दनुवारलाई धानको मूल्य सुनझैं परेको छ । फौजी किराले पाकेको धानका बाला काटेर भुइँभरी बनाएको देखेर उहाँ खिन्न हुनुहुन्छ । “किसानको किस्मत प्रकृतिमै अडेको छ,” उहाँले भन्नुभयो, “एक हप्तामा पूरै खेत सखाप पारिदियो ।” यसपालि फौजी किराको आक्रमणमा परेका किसान उहाँ मात्रै होइन । सबै छिमेकीको अवस्था देखेर उहाँ अझै दुःखी हुनुहुन्छ । गाउँ भोकमरीमा पर्ने चिन्ता छाएको छ । ”कसैको खेत बाँकी छैन । किराले सखाप बनायो,” उहाँले भन्नुभयो ।
१० कट्ठा साहुको जमिन बटैयामा खेती गर्नुभएको दनुवारले पाउने भनेको उत्पादनको आधा हिस्सा मात्रै हो । विगतका वर्ष धान बेचेरसमेत घर खर्च चलाउने उहाँलाई यस वर्ष धान लगाउँदाको खर्च उठाउन मुस्किल हुने भएको छ । फौजी किराले एक सातामा रातभरी सखाप पारेको धान देखेर परिवार चिन्तित छ । खेतमा कुचोले बढार्दै धानका बाला थुपार्दै छन् । यस वर्ष छोराछोरीले भात खान नपाउने चिन्ताले सताएको उहाँले गुनासो गर्नुभयो । साथै साहुले अन्न खराब भएको विश्वास मानेनन् भने के बुझाउने भन्ने चिन्ताले उत्तिकै पिरोलेको छ । त्यसैले खेतमा माटैसित उठाएको धानका थुप्रा उहाँले सुरक्षित राख्नुभएको छ । “साहूलाई यही थुप्रो देखाउने हो, न खान मिल्छ, न फाल्न,”उहाँले भन्नुभयो,“ समयमै पानी परेको र मलजल पाएको हुँदा यसपालि धान राम्रै फलेको थियो । बीउ, मल, खेताला गरी २५ हजार रुपैयाँभन्दा बढी लगानी गरेका थिए ।”
हरिहरपुगढी गाउँपालिका–२ का झलक माझी पनि भित्राउने बेला भएको धान किराले काटेर भूइभरी भएको भन्दै गुनासो गर्नुहुन्छ । १५ कठ्ठा जमिनमा लगाएको धान सबै किराले सखाप पारेको छ । वर्षभरि खेती गरेर आय आर्जन जुटाउने परिवारलाई यसपालि हातमुख जोड्न मुस्किल परेको छ । “अन्नको एउटा गेडो छैन, अब मजदुरी नगरी भएन ,” उहाँले भन्नुभयो । घरमा खान पुग्ने भएकाले विदेश जान छाडेर उहाँ किसानी पेसामा सक्रिय हुनुभएको थियो । १५ कट्ठा खेतमा धान लगाउँदा उहाँले लिएको पचास हजार रुपैयाँ ऋण तिर्न बाँकी छ । त्यही धान बेचेर ब्याजसहितको केही सावा चुक्ता गर्नुपर्ने थियो । २० क्विन्टलसम्म धान उत्पादन हुने खेतमा किराले खाएपछि त्यसको पाँच प्रतिशत पनि उत्पादन नहुने उहाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र सिन्धुलीका सूचना अधिकारी उमादेवी श्रेष्ठले बचेको हरियो धानमा विषादी प्रयोग गर्न किसानलाई सचेत बनाएको बताउनुभयो । यसका लागि आवश्यक विषादी वितरण गर्ने तयारी रहेको छ । उहाँका अनुसार फौजी किराबाट जोगिने उपाए भनेकै पहिलो किसानलाई सूचना दिनु हो । अर्को वर्षको बालीमा समयमै किसानलाई तालिम दिएर फौजी किराबाट जोगिने उपाय सिकाउने केन्द्रको योजना छ ।
जिल्लाको हरिहरपुगढी गाउँपालिका र दुधौली नगरपालिकामा धान बालिमा फौजि किराको समस्या रहेको उहाँले बताउनुभयो । दुधौली नगरपालिकाको १ र ५ नम्बर वडामा बढी फौजि किराको समस्या देखिएको छ । जिल्लामा फौजि किराको संक्रमणबाट कति धान खेति नष्ट भयो भन्ने तथ्यांक भने आउन बाकिँ रहेको श्रेष्ठले बताउनुभयो ।