सिन्धुली — गत असोज १० देखि १२ गतेसम्म बाढीले क्षति पुर्याएका बिपी राजमार्गलाई अस्थायी रूपमा मर्मत सम्भार गरेर सञ्चालनमा ल्याइएको छ । बाढीले बढी क्षति पुर्याएको बीपी राजमार्ग मर्मत गरेर दुईतर्फी रूपमै यातायात सञ्चालन गरिएको छ ।
चाडबाडमा दैनिक १० हजार बढी सवारी साधन गुड्ने बीपी राजमार्गलाई अहिले अस्थायी रूपमा सञ्चालनमा ल्याइएको हो । अस्थायी सडकमा घण्टौ सवारीको जाम हुने गरेको छ । चाडपर्व मनाएर फर्किनेको चाप बढेसँगै राजमार्गमा सवारीको चाप बढेको छ । रोशि खोलाको किनारबाट बैकल्पिक सडक निर्माण गरि सवारी आवतजावत भइरहेको छ । राजमार्गको यात्रा सकसपूर्ण रहेको विपि राजमार्गमा यात्रा गर्नुभएको सन्तोष कार्की बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काठमाडौँबाट सिन्धुली पाँच घण्टामा पुगिन्थ्यो । अहिले दश घण्टा सम्म पनि सिन्धुली पुग्न मुस्किल छ । भत्किएको ठाउँमा एकतर्फि सवारी संचालन भएकाले घण्टै जाममा बस्नु पर्छ ।”
राजमार्गका ठाउँठाउँमा सडक माथिबाट बेलाबेलामा ढुंगा, सुख्खा पहिरो झरिरहन्छ । नदि खोला किनारमा डाइभर्सन गरेर अस्थायी सडक निर्माण गरिएको छ । अस्थायी रुपमा निर्माण भएको सडकमा सुख्खा पहिरो र ढुंगा खसिरहने समस्या छ । पहिरो पन्छाउनका लागि घण्टै स्काभेटर कुर्नुपर्ने समस्या रहेको यात्रुले गुनासो गरेका छन् । नेपाल पत्रकार माहासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरी घिमिरे भन्नुहुन्छ, “सवारी चाप धेरै हुनु, सडक ट्र्याक मात्र खोलिएको अवस्थामा हुनु र ट्राफिक प्रहरी समेत नहुँदा समस्यै समस्या देखिन्छ । नेपाल सरकारले चासो देखाउनु पर्छ । सरकारको कमजोरी हो”
विपि राजमार्ग अन्र्तगत सबैभन्दा बढी काभ्रेको चौकीडाँडामा आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । कालढुंगा र बोक्सीकुनामा २०० मिटरभन्दा बढी सडकमा पूर्ण रूपमा क्षति भएको छ । थली बेसीमा पनि रोशीखोलाले २०० मिटर र नार्के पुल नजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ । भकुण्डबेंसीदेखि रोशी खोलासम्मको १० किलोमिटर क्षेत्रमा बगाएको सडकमा अस्थायी ट्र्याक निर्माण गरि संचालन भएको छ । राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक खण्डको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा चिराचिरा परेर सुनकोसी नदीतर्फ धसिएपछि भित्तापट्टीबाट ५० मिटर डाइभर्सन सडक बनाएको हो । जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर बनाइएको राजमार्ग तीन दिनको वर्षाले तहसनहस बनाइदिएपछि अस्थायी सडक निर्माण गरि संचालनमा छ ।
डेढ महिनाभित्र भने स्थायी संरचना निर्माणकै प्रक्रिया थालिने सडक विभाग महानिर्देशक रामहरि पोखरेलले बताउनुभयो ।
काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडकखण्ड रोशी खोलाले बगाएको छ । ३.३ किमि सडक कतै भासिएको र कतै चिरा परेको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको महानिर्देशक पोखरेलले बताउनुभयो । बाढीले सडक बगाएको १६ दिनपछि यस खण्डमा यातायात सञ्चालनमा ल्याइएको थियो ।
“अहिले दुइतर्फी नै सडक सञ्चालनमा आएको छ,’”उहाँले भन्नुभयो, “बाढीले क्षति पुगेका सबै ठाउमा अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याइसकिएको छ ।’ अहिले कुनै पनि सडकमा ठूलो समस्या नरहेको महानिर्देशक पोखरेलले बताउनुभयो । बीपी राजमार्गमा अप्ठ्यारो र समस्या भएको ठाउँमा सडकलाई सीधा गर्ने गरी पुल बनाइने पोखरेलको भनाइ छ ।
“दुई लेन सडक र पुल गरेर स्थायी संरचना बनाउन ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ,” उहाँले भन्नुभयो, “धेरै भित्तो खन्दा पहिरोको जोखिम हुने भएकाले अब सडक बनाउँदा भित्तो नकाट्ने गरी काम गरिने छ ।” काभ्रेको चौकी डाँडादेखि मुल्कोटसम्मै सडकमा समस्या छ ।