कृषि विकास कार्यालय सिन्धुलीको तथ्यांक अनुसार जिल्लाको झण्डै १० प्रतिशत जनसंख्यालाई यहाँ उत्पादन भएको खाद्यान्नले अपुग हुने गरेको छ । जिल्लाको कुल जनसंख्या मध्ये ३० हजार बढिलाई बाहिरी जिल्लाबाट खाद्यान्न आयात गर्नुपर्ने तथ्यांकले देखाएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांकमा यहाँको कुल जनसंख्याको झण्डै आधा प्रतिशत नागरिक कृषिमा आबद्ध रहेको उल्लेख छ । त्यस्तै,वर्षेनि जिल्लाका नौँवटै स्थानिय तहले कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट पेश गर्ने गरेका छन् । भरपुर कृषियोग्य जमिन र बजेट हुदाहुदैँपनि कृषि क्षेत्रको विकास हुन नसक्नु दुर्भाग्य हो । यहाँका नागरिक खाद्यान्नमा अन्य जिल्ला र देशसँग निर्भर हुनुपर्ने बाध्यता रहिआएको छ । वास्तविक किसानले सरकार र सरकारी निकायका तर्फबाट सामान्य सहयोग र सहुलियतसमेत प्राप्त गर्न सकिरहेका छैनन् । यसले किसानमा केवल असन्तुष्टि मात्रै पैदा गरिहेको छैन, कृषि पेसामा बाँचिरहेका किसानलाई समेत मार पारिरहेको छ । मुलुकमा व्याप्त महँगी र आर्थिक अभावका कारण किसानले कृषि पेसालाई भनेजस्तो निरन्तरता दिन सकिरहेका छैनन् । यतिबेला निरन्तरतामा चल्दै आएको परम्परागत खेतीपातीलाई पनि कतै न कतैबाट टेवा आवश्यक भइरहेको छ । त्यसैले, कृषिलाई पुनर्जीवन दिनका लागि परिस्कृत नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनको आवश्यकता रहेको छ ।
सिन्धुलीमा बढि उत्पादन हुने धान, कोदो, मकै, फापर, गहुँ लगायतका अन्नबाली खेति गर्ने किसानलाई प्रोत्साहन गर्न तीनै तहको सरकारले विशेष चासो देखा जरुरी छ । त्यसैगरि, यहाँका किसानले झेल्नुपरेको समस्याको पहिचान गरि समाधान गर्नतर्फ राज्यको संयन्त्र गम्भिर हुनुपर्ने देखिन्छ । अतः सिन्धुलीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन जिम्मेवार निकायले विशेष चासो देखाउन जरुरी छ ।