मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

तिहार नजिकिएसँगै सिन्धुलीका बजारमा प्लाष्टिकका मालाले भरिभराउ

शनिवार , कार्तिक १०, २०८१

सिन्धुली – नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै सिन्धुलीको बजार क्षेत्रका पसलहरु प्लाष्टिकका मालाले भरिभराउ हुन थालेका छन् । केही दिन अघि मात्रै फुलमाला नदेखिने बजार क्षेत्रका पसलहरुमा हिजो आज भने तिहारलाई लक्षित गरेर माला लगायतका सामग्रिहरु भरिभराउ छन् । बजारका ठाउँ ठाउँमा तिहार लक्षित सामग्रिहरु राखिएका छन् ।

भाइ टिकाको दिन नजिकिएसंगै सदरमुकामका सिन्धुलीमाढी बजार क्षेत्रका पसलहरुमा माला र तिहारका सामग्रिले रंगिएका छन् । तर बजारमा पाइने सबै माला प्लाष्टिककै हुन् । जिल्लामा सयपत्रीको माला बिक्रीको प्रचलन छैन् । ठूला सहरमा सयपत्रीको मालाको ठूलो व्यापार हुने गरेको भएपनि जिल्लामा भने प्लाष्टिककै मालाको भर पर्नुपर्छ । जिल्लामा वर्षेनि ठूलो मात्रामा प्लाष्टिकका माला खपत हुने गरेका छन् । प्लाष्टिकका रेडिमेट माला बाहेक फूलबाट बनेका माला पाइदैनन् । जिल्लामा फूलको मालाको खासै बजार नरहेको व्यापारीहरु बताउँछन् । फूलका माला छिट्टै विग्रिने भएकोले प्लाष्टिककै माला बढि किनमेल हुने गरेको व्यापारीहरु बताउँछन् ।

तिहारमा मालासंगै ढाँकाको टोपीको पनि उत्तिकै माग हुने गरेको सिन्धुलीमाढी बजारमा कस्मेटिक पसल गर्दै आउनुभएकी रमिता कार्कीले बताउनुभयो । तिहारका लागि माला र ढाँकाको टोपी बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । गतवर्ष भन्दा यो वर्ष माला र टोपीको व्यापार राम्रो हुने विश्वास उहाँको छ । त्यस्तै सिन्धुलीमाढीमै कस्मेटिक पसल गर्दै आउनुभएकी रोजिना देवकोटा पनि रेडिमेट माला तथा अन्य सामग्रिको माग धेरै रहेको बताउनुभयो ।

फूलको व्यवसायिक उत्पादन नुहुँदा तिहारमा प्लाष्टिककै मालाको भर पर्नुपरेको छ । गाउँघरमा विभिन्न जातका फूलको सामान्य उत्पादन हुने गरेको छ । तर तिहारका लागि फूल किनेर माला बनाउने बानीको विकास नहुँदा यसको व्यापार सुरु नै हुन सकेको छैन् । सरकारले भने प्लाष्टिकका माला विक्री वितरणमा रोक लगाएको छ । सरकारले प्लाष्टिकजन्य मालाको विक्री वितरण नगर्न र गरेको पाइएमा एक लाख रुपैंयासम्म जरिवाना गर्ने चेतावनी दिएको छ । तर जिल्लामा खुलेआम प्लाष्टिकका माला बिक्री भइरहेका छन् ।

यस्तै, तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाईसमेत आधुनिकताले च्यापिदिएको छ । अहिले दियोको सट्टाले विजुली बत्तिले झिलिमिलि बनाउने थालिएको छ । पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय यो विस्थापित नै भएको छ । माटोको दियो बनाउने पनि घट्दै जानु र बजारमा बिभिन्न प्रबिधिहरुसहितका बत्तिहरु आउनुले यसको महत्व कमलामाई नगरपालिका ६ का दिर्घ न्यौपानेले बताउनुभयो ।

गाउँमा पनि बिद्युतको पहुच बढेसँगै दियो, पालाहरुमा बत्ति बाल्ने प्रचल बिस्तारै हराउदै गएको हो । तिहारका अवसरमा खेलिने देउँसी भैलोमा समेत आधुनिकता मिसिएको छ । नयाँ पुस्ताले देउसीभैलोमा पनि आधुनिकता मिसाएको स्थानीयवासीको भनाइ छ । देउसी भैलो खेल्दा मौलिक गीतहरु नगाई बजारमा आएका बिभिन्न गीतहरु मार्फत नाच्ने गाउने गरिंदा परम्परा हराउँदै जान थालेको छ । संस्कृति बचाउन भन्दा पनि अहिले पैसा जम्मा गर्ने उदेश्यले मात्र देउँसी भैलो खेल्न थालिएको पुराना पुस्ताको चिन्ता रही आएको छ ।

प्रतिक्रिया