मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा श्रीमानविरुद्ध जवरजस्ती करणीको मुद्धा

शुक्रवार , कार्तिक ९, २०८१

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाकी एक महिलाले श्रीमानविरुद्ध जवरजस्ती करणीको मुद्धा हालेकी छिन् । विवाह भएको ३५ वर्षपछि श्रीमानविरुद्ध जवरजस्ती करणीको मुद्धा हालेकी हुन् । श्रीमानले इच्छा विपरीत करणी गरेको भन्दै महिलाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएकी हुन् ।

उनको एउटा छोरी र ६ वटा छोरा छन् । केहि वर्ष अगाडी देखि बैदेशिक रोजगारीमा बस्दै आएका उनको श्रीमान २०८० असार २३ गते घर फर्किएका थिए । श्रीमानले मादक पदार्थ तथा यौन वद्र्वक औषधी सेवन गरी मन्जुरी बिना जवजस्तीकरणी गरेको महिलाले बताएकी छिन् । आफु अस्वस्थ्य हुदाँ समेत श्रीमानले विभिन्न यातना दिइ जवरजस्ती करणी गर्ने गरेको उनले बताइन् । अन्य पुरुषसँग लागेको र श्रीमानको इच्छा पुरा गर्न नसक्ने भन्दै श्रीमानले दैनिक कुटपिट समेत गर्ने गरेको उनले बताइन् । “मादक पदार्थ खाएर दैनिक कुटपिट गर्नुहुन्थ्यो । अरु पुरुषसँग लागेको भन्दै यातना समेत दिनुहुथ्यो । दैनिक चार देखि पाँच पटक सम्म मन्जुरी विना शरिरिक सम्पर्क राख्नुहुन्थ्यो । अस्वस्थ्य हुदाँ समेत जवरजस्तीकरणी गरेपछि म प्रहरी कार्यालय सम्म आइपुगेको हुँ, ” उनले भनीन् ।

उनले आफ्नै श्रीमान विरुद्ध जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएकि हुन् । २०४६ साल फागुन १५ गते उनीहरुको विवाह भएको थियो । पतिले मादक पदार्थ सेवन गरी कुटपिट गर्दै ईच्छा विपरीत जबरजस्ति गरेकोले बाध्य भएर कानुनी बाटो खोज्नु परेको ती महिलाले बताइन् । विवाह भएको यतिलामो समयपछि किन श्रीमतीले श्रीमानविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरिन यो भने निकै रहस्यमय रुपमा हेरिएको स्थानीयवासी बताउँछन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले श्रीमानलाई पक्राउ गरेको थियो । “हामीले बैवाहिक करणी मुद्धामा महिलाको श्रीमानलाई पक्राउ गरेका थियौँ । हाल ८० हजार धरौटिमा छुटेका छनँ ,” जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक एसपी गोबिन्दराज काफ्लेले भन्नुभयो ।

बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीको ईच्छा विपरीत जबरजस्ती गरेमा ५ वर्षसम्म कैद हुने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ । अदालतले पतिको सम्पत्तिबाट पत्नीलाई पालनपोषण तथा संरक्षणका लागि रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । साथै पत्नीको हित र सुरक्षाको लागि उपयुक्त वातावरण मिलाउन आदेश दिन सक्ने व्यवस्था रहेको छ । नेपाली समाजले विवाहपछि श्रीमानसँगको यौन सम्पर्कलाई मान्यता दिन्छ । तर, श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौन सम्बन्धलाई वैवाहिक बलात्कार मानिन्छ । लोग्ने र स्वास्नीबीचमा पनि सहमति नभइ यौन सम्बन्ध राख्न नपाइने कानुनी व्यवस्था छ । ०६३ मा बनेको वैवाहिक बलात्कारसम्बन्धी कानुनलाई ०७२ मा संशोधन गरेर ‘पतिले इच्छा विपरित पत्निलाई जबर्जस्ती करणी गरे पाँच बर्ष कैद सजाय हुने’ व्यवस्था गरिएको थियो ।

सिन्धुलीमा एक वर्षमा दुइ वटा बैवाहिक करणीको मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुइ वटा बैबाहिक करणीको मुद्धा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एउटा बैवाहिक करणीको मुद्धा दर्ता भएको थियो ।

प्रतिक्रिया