सिन्धुली – सिन्धुली कृषिमा आत्मनिर्भर नहुँदा बाहिर जिल्लाबाट खाद्यान्न आयात गर्नुपरेको छ । यहाँ उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन ।
जिल्लामा रहेका नौँवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि जिल्लावासीलाई खान पुग्ने अन्नबालीसमेत जिल्लामै उत्पादन हुन नसकेको तथ्यांकमा देखिएको छ । जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ ।
जिल्लामा मुख्यगरी धान, गहुँ, मकै, कोदो, जौँ र फापरको उत्पादन हुँदै आएको छ । कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरूण खनालका अनुसार जिल्लामा उत्पादित खाद्यान्न बालीले जिल्लालाई नै थेग्न सक्दैन ।
प्रतिव्यक्ति प्रतिवर्ष एक सय ८१ किलोग्राम खाद्यान्न आवश्यक पर्छ । कृषि विकास कार्यालयको तथ्यांकअनुसार धान, गहुँ, मकै, कोदो, जौँ र फापर गरी सिन्धुलीमा खानयोग्य ५१ हजार मेट्रिक टन खाद्यबाली उत्पादन हुन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सिन्धुली जिल्लाको जनसंख्या ३ लाख १ सय १७ रहेको छ । जिल्लामा बसोबास गर्ने ३० हजार जनसंख्यालाई यहाँको उत्पादनले नपुग्ने गरेको उहाँले बताउनुभयो ।
कृषि खाद्यान्न बालीमा आत्मनिर्भर हुनका लागि जिल्लामा एक वर्षमा कुल जनसंख्यालाई वार्षिक रूपमा ५९ हजार ४ सय ४३ मेट्रिक टन प्रशोधित खाद्यवस्तु आवश्यक पर्दछ । तथ्यांकले यहाँको जनसंख्यालाइ अझै ८ हजार ३ सय ५१ दशमलब ६ मेट्रिक टन खाद्यान्न अपुग रहेको देखाएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरूण खनालले बताउनुभयो ।
हाल सिन्धुली जिल्लामा विशेष गरी धान, कोदो, मकै, फापर, गहुँ लगायतका अन्नबाली उत्पादन हुने गरेको छ । तर, जिल्लामा उत्पादित अन्नहरू खाद्यान्नको रूपमा प्रयोग नगर्दा यस्तो समस्या देखिएको हो । विषेश गरी पछिल्लो समय विभिन्न स्थानमा कोदो, मकै गहुँ, फापर लगायतका अन्नहरू घरेलु मदिरा लगायतका विभिन्न प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको खाद्यान्न अपुग भएपछि बार्षिक ८ हजार मेट्रिक टन खाद्यान्न अन्यत्रबाट आयात हुने गरेको छ । हाल सिन्धुली जिल्लामा करिव ५७ हजार ८ सय ८८ हेक्टर जमिनमा खाद्यान्न बालीको खेती हुँदै आएको छ ।