मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा विश्व खाद्य दिवस मनाईयो

बुधवार , कार्तिक ७, २०८१

सिन्धुली – सिन्धुलीमा ४४ औ विश्व खाद्य दिवस मनाईएको छ । बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय कृषि विकास निर्देशनालय कृषि विकास कार्यालय, सिन्धुलीको आयोजनामा ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार’ मूल नाराका साथ मंगलबार ४४ औँ विश्व खाद्य दिवस मनाईएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले आम नागरिकहरुले विषादीरहित पौष्टिक खानामा जोड दिनुपर्ने बताउँनुभयो । सबैले आफ्नो लागि सन्तुलन मिलाएर खाद्य पदार्थ खानुपर्ने र अरुको लागि समेत जोगाउनुपर्ने उहाँको भनाई छ । लामाले सबैले सन्तुलित भोजनका बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । खाने कुरा खान नपाएर र खान नजानेर मानिसलाई रोगको सिकार बन्ने गरेको भन्दै सन्तुलित भोजनका बारेमा जानकारी हुन आवश्यक रहेको बताउनुभयो । उहाँले हाम्रो समाजमा विभिन्न अवस्थाका मानिस बसोबास गर्ने हुँदा सन्तुलित भोजनको व्यवस्थापन गर्न नसक्ने त्यस्ता परिवारलाई कृषिमा नै रोजगार हुने कार्यक्रम संचालन हुनु पर्ने धारणा राख्नु भयो ।

जनचेतनामा अभिबृद्धि, खाद्य सुरक्षा, प्रचारप्रसार, विश्वभर खाद्यान्न संकट र भोकमरी विरुद्ध एक्यवद्ध भइ लड्न, विश्वभर पोषणयुक्त सन्तुलीत भोजनको महत्व प्रदान गर्न र खाद्य अधिकारको बिषयमा जानकारी गराउने उदेश्यले दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण खनालले जानकारी दिनुभयो ।

खानाको प्रकार, पोषिलो खानमा पहुँच पु¥याउन, उन्नत कृषि प्रविधिहरूको प्रयोग मार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउन, कृषिमा आधारित उद्योग व्यवसायहरूको विकास गरी रोजगारी सिर्जना र आम्दानी वृद्धि गर्न दिवस मनाइँदै आएको उहाँले बताउनुभयो ।

व्यावसायिक कृषिको विकास गरी कृषि उपजको आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धनमा सहयोग गर्ने, कृषि विकास र वातावरण संरक्षण बिच सन्तुलन कायम राख्न वातावरण मैत्री कृषि प्रणालीको विकास गरी कृषि जैविक विवधताको संरक्षण, संवर्धन एवं दिगो उपयोग गर्ने यस दिवसको उद्देश्य रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी निरन्तर बजार अनुगमन गर्न, जनसमुदायमा सचेतना मुलक कार्यक्रम संचालन गर्न सम्बन्धित कार्यालयलाई आग्रह गर्नुभएको छ । साथै कृषकहरुले पाउने अनुदान वास्तविक किसानले पाउनेपर्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा बागवानी केन्द्र, भेटनरी अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोन, खाद्य तथा गुण नियन्त्रणका प्रमुख तथा प्रतिनिधी लगायत जिल्लाका सबै स्थानीय तहका कृषि प्राविधिकहरुको उपस्थिती रहेको थियो ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) को आह्वानमा यो दिवस मनाउँदै आईएकोे छ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको २० औँ साधारण सभाले संगठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित गरे अनुरूप सन् १९८१ देखि विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँन थालिएको हो । नेपालको संविधानमा खाद्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया