सिन्धुली – हालैको बाढीपहिरोले सिन्धुलीकोे ८ सय ५७ हेक्टरमा क्षेत्रफलमा लगाएको बाली र १३ रोपनीमा लगाइएको फलफुल तथा अदुवामा क्षति पुगेको भएको छ । बाढीपहिरोले जिल्लाका ७ वटा स्थानीय तहका उक्त क्षेत्रफलमा लगाइएको धान, तरकारी,अदुवा तथा फलफुल लगायत अन्य बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
कृषि विकास कार्यालयले सम्बन्धीत स्थानीय तहमा समन्वय गरि संकलन गरेको तथ्यांक अुनसार बाढीपहिरोका कारण ८ सय ५४ हेक्टरमा लगाइएको धान, ३.८० हेक्टरमा लगाइएको तरकारी, १२ रोपनीमा लगाइएको फलफुल, १ रोपनीमा लगाइएको अदुवा खेतिमा क्षती भएको छ । साथै बर्षाको कारण २२ वटा टनेलमा समेत क्षती पुगेको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरुण कुमार खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा बढी जिल्लाको सुनकोशी गाउँपालिकामा अन्नबाली क्षती भएको छ । सुनकोशी गाउँपालिकामा ५ सय १३ हेक्टरमा लगाइएको धानबाली र ४ वटा टनेलमा क्षती भएको उहाँले बताउनुभयो । बर्षाका कारण हरिहरपुरगढी गाउँपालिकामा ४ सय ८४ घरधुरीको २ सय ४५ हेक्टरमा लगाइएको धानबाली, १ घरधुरीको १ हेक्टर तरकारी र १ घरधुरीको ४ वटा टनेलमा क्षती पुगेको कार्यालय प्रमुख खनालले जानकारी दिनुभयो ।
त्यस्तै फिक्कल गाउँपालिकामा २ सय २५ घरधुरीको ३५ हेक्टमा लगाइएको धान बाली, ४ घरधुरीको १२ रोपनीमा लगाइएको केरा खेति, २ घरधुरीको ४ रोपनीमा लगाइएको आँप र १ घरधुरीको १४ वटा टनेलमा क्षती भएको छ । घ्याङलेख गाउँपालिकामा १० घरधुरीको १ हेक्टरमा लगाइएको धानबाली, १ घरधुरीको १ रोपनीमा लगाएको अदुवा खेतिमा क्षती भएको छ भने कमलामाई नगरपालिकामा ८८ घरधुरीको १८ हेक्टरमा लगाइएको धानबालीमा क्षती भएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यस्तै जिल्लाको गोलन्जोर गाउँपालिकामा ४० हेक्टरमा लगाइएको धानबाली, १ हेक्टरमा लगाइएको तरकारी, ३ हेक्टरमा लगाइएको फलफुलमा क्षती भएको छ भने तीनपाटन गाउँपालिकामा ३ हेक्टरमा लगाइएको धानबालीमा क्षती भएको कार्यालयले जनाएको छ ।