सिन्धुली – सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा बेलीब्रीज निर्माण भएको छ । आइतबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज निर्माण भएसँगै दुई सडक जोडिएको हो । गत असोज ११ र १२ गते सुनकोशीमा आएको बाढीले करिब १० वर्ष अगाडि बनेको खुर्कोट मन्थली सडक खण्डको पक्की पुलको रामेछाप तर्फको भाग बगाएको थियो ।
पुल बगाएपछि रामेछाप सिन्धुली आवतजावतमा समस्या भएको थियो । नेपाली सेनाले असोज २० गतेबाट बेलिब्रीज निर्माणको काम सुरु गरेको हो । सुनकोशीले बगाएर आधा बाँकी रहेको पक्की पुलमाथिबाट १८० फिट लामो बेलिब्रीज जडान गरी रामेछाप तर्फ जोडिएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोशी नदीको पुल बगाएपछि नेपाली सेनाले तत्कालै बेलिब्रिज निर्माणको काम थालेको हो । नेपाली सेनाको १४ बाहिनी अड्डा एयरपोर्टको पुल महाशाखाले बेलिब्रिज निर्माणको काम गरिरहेको छ भने सडक निर्माणको काम सडक विभागले गरेको छ । करिब १ सय मिटर लामो पुलको रामेछाप तर्फको स्पान सुनकोशीको बाढीले बगाएपछि बेलिब्रीज निर्माण गरिएको हो ।
खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुंगा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो । दोलखा मुँडे हुँदै मन्थलीसम्म १० देखी ११ घण्टाको समय लगाएर सवारी साधनहरु आवतजावत गरिरेहेका छन । नेपाली सेनाले एमपिवि (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछापलाई जोडेको छ । नेपाली सेनाले काम सुरु भएको नवौ दिनमा बेलिब्रिज जडान गरेको हो । जडानको काम पूर्ण रुपमा सकिएको छ । यातयात सूचारु गर्नका लागि परिक्षणको काम भइरहेको नम्बर १४ बाहिनी अड्डा काठमाडौँबाट खटिएका नेपाली सेनाका फिल्ड कमान्डर प्रमुख सेनानी कर्णेल नारायण तुम्बाहाम्फेले बताउनुभयो । उहाँका अनुसार पुल निर्माण सम्पन्न भइसकेकाले यातयात संचालनका लागि परिक्षण गरिनेछ । तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपिवि जडान गरिएको छ । पुल निर्माणको लागि पहिलो चरणमा नोज कन्ट्रक्सनको काम सकेर असोज २२ गतेबाट ब्रिज कन्ट्रक्सनको काम सुरु गरिएको थियो । पुल निर्माण भएसँगै स्थानियले सहज रुपमा आवतजावत गरिरहेका छन् ।