मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सकियो दशैँः रित्तिदै सिन्धुलीको गाउँ

आइतवार , कार्तिक ४, २०८१

सिन्धुली – दशैँ सकिएसँगै सहर फर्किर्नेको चाप बढेको छ । सिन्धुली हुदै विभिन्न सहर जाने व्यक्तिको भिड नै छ । राजमार्गमा सवारीको चाप छ । जिल्लाको मुख्य बजार र चोकमा गाउँबाट सहर फकिर्नेको लर्को देखिन्छ । सिन्धुलीमाढीको बस पार्कमा यति बेला मानिसको भिड छ । दशैँ मनाएर सहर फकिर्ने तथा आफ्नो पेशामा फकिर्ने व्यक्तिको भिड देखिन्छ । तिनपाटन गाउँपालिका ७ का लिला बस्नेत शुक्रबार गाउँबाट फर्किएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सिन्धुलीमाढी सम्म आउ झण्डै ४ घण्टा गाडी कुर्न प¥योे । गाडी सबै भरिभराउ थिए, सिट नपाएर आधि बाटो सम्म उभिएर आएको, अहिले गाउँबाट सहर फर्किनेको चाप छ ।”

दशै सकिएसँगै रोजगारीका सिलसिलामा आफ्नो कार्यस्थल फर्कनेहरूको यतिखेर बजारमा लर्को लागेको छ भने दुई–चार दिनका लागि भरिएका गाउँ बस्ती पुनःरित्तिन थालेका छन् । यात्रुको चापका कारण सवारीसाधनलाई यात्रु ओसार्न भ्याइ–नभ्याइ भएको छ । फर्कने यात्रुका कारण विपि राजमार्ग, मध्यपहाडी राजमार्ग र मदभण्डारी राजमार्ग सवारी साधनको चाप निकै बढेको छ । सिन्धुलीबाट काठमाडौँ र अन्य शहरमा जाने यात्रुवाहक बस खचाखच भरिएका छन् भने टिकट लिनका लागि काउन्टरमा सर्वसाधारणको लर्को देखिन्छ । दशैँ मनाएर कर्मथलो फर्किनेको भिड सिन्धुलीमाढीको बसपार्क, शान्तिनगर चोक, ढुंग्रेबास चोक, भिमान लगाएत मुख्य चोकमा देखिन्छ । बस कुर्दै गरेका सर्वसाधारणको चाप जिल्लाको मुख्य चोकमा देखिएको हो । सरकारी तथा अन्य निजी कार्यालय खुले पनि कोजाग्रत पूर्णिमासम्म शैक्षिक संस्थामा पठनपाठन नभएका कारण आधाजसो फर्कने क्रममा रहेको कमलामाई नगरपालिका ४ का सुर्य कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “अझै धेरै फर्किनै बाकिँ छन् । शैक्षिक संस्थामा पठनपाठन नभएको कारण पनि आधि मानिस फर्किएका छैनन् । विभिन्न पेशामा भएका व्यक्ति भने फर्किसकेका छन् ।”

विगतमा भन्दा यस वर्षको दशैँमा आपराधिक गतिविधि कम भएको जिल्ला प्रहरी कार्यालयका सिन्धुलीका प्रहरी प्रमुख एसपी गोबिन्दराज काफ्लेले बताउनुभयो । टीका लगाएर फर्कनेको शहरी क्षेत्रमा निकै चाप देखिएको बताउँदै उहाँले लामो दूरीका सवारीले विगतमा जस्तो बढी भाडा लिने गरेको गुनासो नआएको उल्लेख गर्नुभयो । केहि सवारी साधनले भाडा मनपरी लिएको भन्ने गुनासो आएसँगै उनीहरूलाई नियन्त्रणमा लिएर कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । बढी भाडा लिएको गुनासो आउने वित्तिकै तत्काल कारबाही गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बढी भाडा लिने सवारीलाई हामीले कारबाहि गरिरहेका छौँ । केहि सवारी साधनलाई हामीले कारबाहि समेत गरिसकेका छौँ । सिट क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, तिव्र गतिमा सवारी चलाउने लगाएत ट्राफिक नियमको पालना नगर्नेलाई हामीले कारबाही गरेका हौँ ।”

प्रतिक्रिया