सिन्धुली –गएको असोज १० देखि १२ गतेसम्म परेको भीषण वर्षाले बिपी राजमार्ग ध्वस्त बनायो । रोशी खोला र सुनकोशी नदीले बिपी राजमार्गको १२ किलोमिटर बढी सडकमा क्षति पुर्यायो । सडक अवरुद्ध भयो । काठमाडौंबाट पूर्व जाने यातायात साधन सञ्चालनमा कठिनाइ भयो ।
दशैँको मुखमा सडक अवरुद्ध हुँदा काठमाडौँबाट घर जाने यात्रीहरूलाई संकट प¥यो । यातायात साधनहरूले लामो घुमाउरो बाटो पार गर्नुपर्ने भयो । चार÷पाँच घण्टामा पार गरिने यात्रा पुरा गर्न पुरै दिनभरि वा रातभरि लाग्ने भयो ।
पूर्व जाने सवारीसाधनको चापले नागढुंगा सडक निक्कै व्यस्त भयो । नागढुंगाको जामले यातायात साधनहरू लामो समय रोकिने अवस्था बन्यो । बिपी राजमार्गको चाप थेग्न अन्य सडकलाई गाह्रो भयो ।
पानी रोकिने बित्तिकै बिपी राजमार्ग मर्मतको काम सरकारले सुरु ग¥यो । बिपी राजमार्ग मर्मतको काममा प्राविधिक र डोजर अपरेटरहरू मात्र जुटेनन्, राजनीतिक दलका नेताहरू जुटे, सुरक्षाकर्मी जुटे, नागरिक समाजका अगुवा जुटे, सबै जना जुटे ।
नेकपा एमालेका नेता वाग्मती प्रदेशका पूर्व स्वस्थ्य मन्त्री प्रदीप कटुवाल सुरुको दिनदेखि सडक मर्मतको काममा जुट्नुभयो । सडकमा ठाउँ ठाउँमा पहिरो खसेको थियो, ठाउँ ठाउँमा धसिएको थियो, १० किलोमिटर बढी सडक त रोशी खोलाले नामोनिशान नराखी बगाइदिएको थियो ।
पहिरो खसेको ठाउँमा पहिरो पन्छाइयो । बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरियो । सडक मर्मतको अभियानमा धेरै मानिसहरू ठाउँ ठाउँमा जोडिए, छुटे । तर प्रदीप कटुवाल अभियानमा निरन्तर जोडिनुभयो ।
दशैँको फूलपातीको दिन राति काठमाडौंबाट मंगलटारसम्म र सिन्धुलीबाट पनि मंगलटारसम्मको सडक क्लियर गरेपछि दुवै तर्फबाट छुटेका सवारी साधन जोडिए । सडक मर्मत गरी अस्थायी रूपमा यातायात सञ्चालन भएकोमा एक आपसमा खुसीयाली साटासाट भयो । तब मात्र दशैँ मान्न कटुवाल सिन्धुली फर्कनु भयो ।
दशैँ अघि हतार हतार काम भएको थियो । बिच बाटोमा फसेका सवारी साधनको उद्धार गर्नुपर्ने थियो । साना मात्रै भए पनि सवारी साधन सञ्चालन गरेर दशैँ मान्न घर जाने काठमाडौं पूर्वका यात्रीहरूलाई बाटो खोलिदिनु पर्ने थियो ।
त्यसैले कतिपय ठाउँमा एकतर्फी मात्रै यातायात सञ्चालन हुन सक्ने गरी डाइभर्सन निर्माण गरियो । खोलाको बगरमा अस्थायी रूपमा यातायात सञ्चालन हुने गरी सडक बनाइयो ।
दशैँ सकिए लत्तै घर आएकाको काठमाडौं फर्कने लर्को लागेको छ । बिपी राजमार्गमा थेगिनसक्नुको सवारी चाप बढेको छ । सहर फर्कनेको लर्कोलाई थेग्न बिपी राजमार्गलाई धौ–धौ परेको छ । डाइभर्सनहरूमा लामो सवारी जाम छ ।
दशैँ मान्न सिन्धुली जानुभएका कटुवालको तन सिन्धुलीमा भए पनि मन भने बिपी राजमार्गमा नै थियो । त्यसैले उहाँ दशैँको टीका लगाउने बित्तिकै पुनः बिपी राजमार्गको डाइभर्सन निर्माण भएको ठाउँमा पुग्नु भएको छ ।
दशैँ अघि सडकको बिग्रिएको ठाउँमा ट्र्याक खोल्ने काम भएको बताउँदै कटुवालले अब अस्थायी सडक सुधारको काम गर्नुपर्ने बताउनुभयो । टीका लगाइसकेकोले अब आफू त्यही काममा जुट्ने कटुवालले बताउनुभयो ।
बाटो खुलेको भए पनि सडक साँघुरो भएकोले ठाउँ ठाउँमा जाम रहेको उहाँले बताउनुभयो । ‘बाटो खुलाइयो, सवारी चापले जाम नै जाम छ, नेपालथोक, चौकीडाँडा लगायत ठाउँ ठाउँमा जाम छ, अहिले ट्र्याक मात्र छ, बाटो फराक बनाउन लागिँदै छ, केही दिनमा यो समस्या समाधान हुन्छ’, उहाँले भन्नुभयो ।
कटुवालले आफू सडकमा सहज यातायात सञ्चालन नहुँदासम्म नियमित सडक खुलाउने काममा नै लागिरहने बताउनुभयो । यसमा सबैलाई नरिसाउन तथा सहयोग र सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
सडक निर्माणको अभियानमा जुट्नु भएका कटुवाल बुधबार नै रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको निर्माणाधीन बेलीब्रिजको अवलोकन गर्न पनि पुग्नुभयो । बाढीले बगाएको सो पुल नेपाली सेनाले निर्माण गर्दै छ । सेनाले निर्माण गरिरहेको सो पुल केही दिनमा नै तयार हुने अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।
काममा लागेपछि लागिरहने कटुवालको यो लगाव र ज्युँदो जाँगर प्रशंसनीय छ । उहाँको यो राजनीतिक र सामाजिक क्षेत्रमा काम गर्ने अरूका लागि पनि प्रेरणादायी छ ।
कटुवालको सादगीपन अर्को अनुकरणीय पक्ष हो । न कोट छ , न पाइन्ट । सिर्फ एउटा सर्ट, हाफ पाइन्ट र गोडामा जुत्ता, त्यो पनि बगरमा हिँड्दा त खाली खुट्टा । सडक मर्मतको क्रममा देखिने उहाँको यो पोसाकले राजनीतिक व्यक्तित्वको सादगीपनलाई पनि दर्साएको छ ।