सिन्धुली– खुर्कोट र रामेछाप जोडने बेलिब्रीजको निर्माण कार्य ९० प्रतिशत पुरा भएको छ । गत असोज ११ र १२ गते सुनकोशीमा आएको बाढीले करिब १० बर्ष अगाडि बनेको खुर्कोट मन्थली सडक खण्डको पक्की पुलको रामेछाप तर्फको भाग बगाएको थियो ।
पुल बगाएपछि रामेछाप सिन्धुली आवतजावतमा समस्या भएपछि नेपाली सेनाले असोज २१ गतेबाट बेलिब्रीज निर्माणको काम गरिरहेको छ । बेलिब्रीजले खुर्कोट मन्थली सडक जोड्ने काम भएको छ तर अरू थप केही काम बाँकी छ, नम्बर १४ बाहिनी अड्डा काठमाडौँबाट खटिएका नेपाली सेनाका फिल्ड कमान्डर प्रमुख सेनानी नारायण तुम्बाहाम्फेले भन्नुभयो ।
सुनकोसीले बगाएर आधा बाँकी रहेको पक्की पुलमाथिबाट १८० फिट लामो बेलिब्रीज जडान गरी रामेछाप तर्फ जोडिएको उहाँको भनाइ छ । “बेलिब्रीजलाइ सुरक्षित तबरले रामेछाप तर्फ टेकाउने काम भएको छ”, उहाँले भन्नुभयो, “तर थप काम बाँकी छ करिब २ फिट जति र्याम जोड्ने काम बाँकी छ, रामेछाप तर्फ भत्किएको सडक बनाउने काम सडक विभागले गरिरहेको छ ।”
बेलिब्रीज निर्माणको काम ९० प्रतिशत पूरा भइसकेकाले केही दिन भित्रै बेलिब्रीज जडानको काम सम्पन्न गरी सवारी सञ्चालन गर्न सकिने गरी तयारी भएको सेनाले जनाएको छ । गत असोज ११ र १२ गते आएको अविरल बर्षासँगैको बाढीले सुनकोशी नदी माथिको पक्की पुलको रामेछाप तर्फ बनाएपछि खुर्कोट मन्थली सडक खण्ड अवरुद्ध भएको थियो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाट जोड्ने सुनकोशी नदीको पुल बगाएपछि नेपाली सेनाले तत्कालै बेलिब्रिज निर्माणको काम थालेको थियो ।
नेपाली सेनाको १४ बाहिनी अड्डा एयरपोर्टको पुल महाशाखाले बेलिब्रिज निर्माणको काम गरिरहेको छ भने सडक निर्माणको काम सडक विभागले गरेको छ । करिब १ सय मिटर लामो पुलको रामेछाप तर्फको स्पान सुनकोशीको बाढीले बगाएपछि बेलिब्रीज निर्माण गरिएको हो ।