सिन्धुली – विपि राजमार्ग संचालनमा आएको छ । गत असोज १०, ११ र १२ गते गते आएको भीषण वर्षाको कारण आएको बाढी पहिरोले बगाएको बीपी राजमार्गमा डाइभर्सन गरी यातायात खुलाइएको हो । दशैँको फूलपातीको दिन राति काठमाडौंबाट मंगलटारसम्म र सिन्धुलीबाट पनि मंगलटारसम्मको सडक सफा गरेपछि दुवै तर्फबाट छुटेका सवारी साधन जोडिएका हुन् ।
संघीय राजधानीलाई पूर्वी जिल्लासँग जोड्ने छोटो राजमार्ग भएका कारण पहिरो पन्छाएसँगै वीपी राजमार्गमा गाडीहरुको चाप बढेको छ । दशैँमा टीका लगाउन गाउँ गएकाहरु धमाधम काठमाडौं फर्किन थालेसँगै अहिले बीपी राजमार्गमा सवारी साधनको भीड बढेको छ । सडकमा साना सवारी साधनको निकै लामो लाइन देखिएको छ । रोशी खोलाको बाढी र पहिरोले बगाएको सडक फूलपातीको दिन राति खोलिएको भए पनि राति नै सुख्खा पहिरो गएपछि बन्द भएको थियो । पुनः सुक्खा पहिरो हटाएर सवारी साधन सञ्चालनको लागि खुल्ला गरिएपछि सो सडकमा यातायात साधनको चाप बढेको छ ।
विभिन्न ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सञ्चालन गरिएको सडकमा डाइभर्सनमा गाडीहरुको जाम लाग्ने गरेको छ । साँघुरो बाटोमा एकतर्फी मात्रै यातायात साधन चल्ने हुँदा सडक जाम भएको हो । डाइभर्सनमा लामो समयसम्म यातायात साधनले पालो पर्खनु पर्ने अवस्था छ । चौकीडाँडा र माम्ती खोला नजिक डाइभर्सन निक्कै अप्ठेरा छन् । बाटो अप्ठेरो रहेको र चौकी डाँडाको डाइभर्सनमा लामै पालो पर्खनु पर्ने चालकहरु बताउँछन् । साँघुरा डाइभर्सनमा सडक मर्मत गर्ने काम भएको छ । नेकपा एमालेका नेता वाग्मती प्रदेशका पूर्वमन्त्री प्रदीप कटुवाल सुरुको दिनदेखि सडक मर्मतको काममा जुटिरहनुभएको छ । दशैँको टीका लगाउने बित्तिकै पुनः बिपी राजमार्गको डाइभर्सन निर्माण भएको ठाउँमा उहाँ पुग्नु भएको छ । दशैँ अघि सडकको बिग्रिएको ठाउँमा ट्र्याक खोल्ने काम भएको बताउँदै कटुवालले अब अस्थायी सडक सुधारको काम गर्नुपर्ने बताउनुभयो । टीका लगाइसकेकोले अब आफू त्यही काममा जुट्ने कटुवालले बताउनुभयो । बाटो खुलेको भए पनि सडक साँघुरो भएकोले ठाउँ ठाउँमा जाम रहेको उहाँले बताउनुभयो । “बाटो खुलाइयो, सवारी चापले जाम नै जाम छ, नेपालथोक, चौकीडाँडा लगायत ठाउँ ठाउँमा जाम छ, अहिले ट्र्याक मात्र छ, बाटो फराक बनाउन लागिँदै छ, केही दिनमा यो समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो । कटुवालले आफू सडकमा सहज यातायात सञ्चालन नहुँदासम्म नियमित सडक खुलाउने काममा नै लागिरहने बताउनुभयो । यसमा सबैलाई सहयोग र सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
राजमार्गमा यातायातको चाप निकै बढे पनि सडक भने जोखिमपूर्ण रहेको छ । बाढी पहिरोले चर्किएका भित्तामा सवारी चापले थर्किएर सुक्खा पहिरो जाने जोखिम छ । सो सडकको काभ्रे भञ्जयाङदेखि खुर्कोटसम्मकै सडक जोखिमपूर्ण छ । रोशी खोलाले कटान गरेको ठाउँमा ठाउँ ठाउँमा खोलै खोला डाइभर्सन निर्माण गरिएको छ । काभ्रे भञ्ज्याङदेखि खुर्कोटसम्म बाँकी रहेको सडक पनि ठाउँ ठाउँमा धसिएर र चर्किएर धराप बनेको छ ।
रातको समयमा राजमार्ग बन्द
बिपी राजमार्ग अन्तर्गत धुलिखेल भकुण्डेवेसी बर्षेखोला सडकमा बुधबार देखी सवारी आवागमन दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको हो । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाण्डौ सडक डिभिजन भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै यस समयमा बिपी राजमार्गमा सवारी आवागमन बन्द हुने जनाएको हो ।
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण वि.पी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ किलोमिटर भन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएकोले हाल ट्र्याक निर्माण गरी यात्रुवाहक सवारी साधनको लागि मात्र आवागमन खुलाइएको छ । काभ्रे जिल्ला अन्तर्गत क्षतविक्षत रहेको भकुण्डेवेसी चौक डाँडा देखि बर्षेखोला सम्मको सडक खण्डहरूमा ट्र्याक निर्माण भए पनि हाल ट्र्याकको मर्मत तथा सुधार कार्य गरि यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेको साथै जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले साँझ ६ बजेदेखि बिहानको ४ बजेसम्म वि.पी राजमार्ग ( धुलिखेल भकुण्डेवेसी बर्षेखोला सडक खण्ड) बन्द रहने भएको हो ।