मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा खोलाले बगाएर बेपत्ता भएका युवा मृत अबस्थामा फेला

मंगलवार , आश्विन २९, २०८१

सिन्धुली २९ असोज – सिन्धुलीमा सोमबार साँझ ५ः१५ बजेको समयमा खोर खोलाले बगाएर बेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन् । कमलामाई नगरपालिका १० स्थित खोर खोलाले बगाएका युवा कमलामाई नगरपालिका ९ भिमान र कमलामाई नगरपालिका १० सरकारी टोलको सिमानामा रहेको पुल मुनि कमलाखोलाको कुलो बाँधमा मंगलवार शव फेला परेको हो ।

खोलाले बगाएर बेपत्ता भएका महोत्तरीको बर्दिबास नगरपालिका ३ कालापानीका १९ वर्षीय पियुश थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । पियुशलाई खोलाले बगाएर बेपत्ता बनाएपछि प्रहरीले खोजतलास गर्दा मृत अवस्थामा फेला पारेको उहाँले जानकारी दिनुभयो ।

खारखोला माथि नुहाउने स्थान ( सानो झरना) मा बर्दिबासबाट १० जना बालकहरू नुहाएर फर्किदा सोही खारखोलाबाट तल सिस्नेरी वि.पी. राजमार्गमा आउने क्रममा पियुश थापामगरलाई खोलामा एक्कासि आएको बाढीले बगाएको उहाँले जानकारी दिनुभयो ।

पीयूषलाई खोलाले बगाएपछि उनका साथी मन्दिप मगर र कृष्ण कार्कीले आफ्नो आफन्तलाई जानकारी गराएको र आफन्तले पियुशको परिवारलाई जानकारी गराएपछि प्रहरीलाई खोलाले बगाएको जानकारी आएको थियो उहाँले बताउनुभयो । त्यसपछि इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोली र भवानी बक्स गण भिमान सिन्धुलीबाट नेपाली सेनाको ४ जनाको समूहले खोज तलास गर्दा मंगलवार बिहान ८ः४० बजे शव फेला परेको हो । शव खोलाले बगाएको स्थानबाट ६ किलोमिटर तल फेला परेको छ ।

प्रतिक्रिया