मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीको ग्रामिण क्षेत्रमा दशैँको रौनक

बुधवार , आश्विन २३, २०८१

सिन्धुली – दशैँको टिकाको दिन नजिकिएसँगै अध्ययन, रोजगार तथा विभिन्न कामको सिलसिलामा सहर बस्ने नागरिक धमाधम गाउँ फर्किन थालेका छन् । बजारबाट गाउँ फर्किनेको संख्या दिनदिनै बढ्दै गएको छ । यति बेला गाउँमा निकै चहलपहल बढेको छ भने बजार सुनसान बन्न थालेका छन् । सिन्धुलीका ग्रामिण क्षेत्र दशैँ, तिहारबाहेक अन्य समय सुनसान नै हुन्छन् । स्थानीयबासीको बढ्दो सहर मोह र युवा शक्तिको विदेश पलायनले गाउँ पहिलेको जति रमाइलो छैन । खासगरी पछिल्लो समय गाउँमा बुढापाका र बालबालिका मात्रै बस्ने गरेका छन् । उनीहरुले नै गाउँ धानेका छन् ।

एक दशक अगाडिसम्म गाउँ भरिभराउ थियो तर अहिले गाउँका घर प्राय खाली भए पनि दशैं सुरु भएपछि खाली घरमा आगो बल्न थालेको छ । बजारमा कोठा तथा घर भाडामा लिएर बस्ने यतिबेला आफ्नै जन्मभूमिमा पुगेका छन् । सुख, सयल र विलाशिताको जीवन बिताउन बजार झरेकालाई पनि चाडपर्वमा गाउँ रमाइलो लाग्ने हुँदा यो समय गाउँमा चहलपहल बढेको छ । परदेशमा रहेका युवा पनि दसैं मनाउनका लागि स्वदेश आइरहेका छन् ।

एकसाता अगाडिसम्म जिल्लाका धेरै गाउँहरु सुनसान रहेकामा अहिले मानिसको जमघटले चहपहल बढेको मरिण गाउँपालिका ७ की रमिता लामाले बताउनुभयो । घटस्थापनाका दिनदेखि सहर बजारमा रहेका र विदेशमा गएर दशैँ तिहार मनाउन उनीहरु गाउँ आएको उहाँले बताउनुभयो । दशैँ तिहार सकिएपछि पुन गाउँ सुनसान हुने उहाँ बताउनुहुन्छ । “अहिले गाउँमा मानिसको चहलपहल बढेको छ । सबै आफ्नो घर फर्किएका छन् । पढ्न र कामको लागि बाहिर गएका सबै दशैँ मनाउन आएका छन् । गाउँघरको चोक र पसलमा मानिसको जमघट देखिन्छ ।” उहाँले भन्नुभयो ।

स्थानीय शिब हरि कार्कीले दशैंमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राख्नुभएको छ । उहाँले गाउँमा दशंै आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताउनुभयो । गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिंगे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा बृद्धि भएको छ । झार उम्रेका घर आगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ । “दशंैमा छोरा नाती आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ” उहाँले भन्नुभयो “एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशै तिहारमा त छोरा बुहारी र नातनातीना संग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दशैं ।” गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि हुने रमाइलोले दशैंको महत्वलाई झल्काउने गरेको उहाँले बताउनुभयो । गाउँ जाने यातयातका साधनहरुले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन् । दशैंमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दशंैमा खोसिएको गाउँको खुशी फर्कन्छ ।

प्रतिक्रिया