सिन्धुली– सिन्धुलीमा शनिबार राती हात बाँधिएको अवस्थामा एक महिला फेला परेकी छिन् । जिल्लाको दुधौली नगरपालिका ८ स्थित खोरभञ्याङमा अन्दाजी ३५/३६ वर्षको महिला अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसपी) अनिल कुमार खड्काले बताउनुभयो । मदन भण्डारी राजमार्गदेखि १० मिटर उत्तरतर्फ भित्री सडकखण्डमा दुवै हात बाँधिएको कोल्टे अवस्थामा महिला भेटिएको डिएसपी खड्काले बताउनुभयो ।
सडकमा महिला लावारिस अवस्थामा फेला परेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्ले बिहान १ बजे घटनास्थलमा पुग्नुभएको थियो । अर्धचेत अवस्थामा फेला परेकी महिला सिराहाको सुनिता यादव रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । श्रीमानसँग डिभोर्सको तयारी गर्दै गरेकी यादव लावारिस अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ । उनको दुईवटा छोरा रहेको आफन्तले बताएका छन् । यादवको दुधौली नगरपालिका ५ स्थित सिर्थौलीमा रहेको नगर अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक काफ्लेले बताउनुभयो । घाइते यादव बोल्न सक्ने अवस्थामा आइनसकेको एसपी काफ्लेले जानकारी दिनुभयो ।