मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

दशैँको किनमेलः सिन्धुलीमाढीको शनिबारे हाटमा ग्राहकको भिडभाड

आइतवार , आश्विन २०, २०८१

सिन्धुली – सिन्धुलीमाढीमा लाग्ने शनिबारे हाट बजारमा सामान विक्री तथा किनमेल गर्नेको भिड लागेको छ । दशैको अन्तिम शनिबारे हाट बजारमा खसिबोका साथै नयाँ कपडा, चप्पल, श्रृंगारका सामान लगाएत खाद्यान्नको सामानहरु किन्नेको भिड लागेको हो ।

सबै भन्दा बढी कपडा पसलमा भिड देखिएको छ । सिन्धुलीमाढीका एक कपडा व्यवसायीले भन्नुभयो, “आज शनिबार मात्रै झण्डै ६० हजार बढीको कपडा व्यापार भयो । विहान देखि साझँ सात बजे सम्म पसलमा भिड थियो । दुइ दिन देखि पसलमा सामान बेच्न भ्याइनभ्याई भएको छ ।” हाटबजारमा कस्मेटिक सामानहरु पनि बढि मात्रामा विक्री भएको शनिबारे हाटमा कम्मेटिक पसल सञ्चालन गरिरहेकी मनकुमारी घिमिरेले बताउनुभयो । “आज राम्रो व्यापार भएको छ । भिडभिडनै थियो । विहान देखि एक्छिन बस्न समेत पाएको छैन् । दशैँको व्यापार आजै हुने हो ,” उहाँले भन्नुभयो । उहाँले विहान देखि दिउँसो सम्म २० हजार भन्दा बढीको कस्मेटिकको सामान विक्री भएको बताउनुभयो ।

यस्तै शाह बस्त्रालयका संचालक भोला शाह पनि व्यापार राम्रो भएको बताउनुहुन्छ । अघिल्लो हप्ताको शनिबारको तुलनामा यो हप्ताको शनिबार ५ औँ गुणाले व्यापार बढेको उहाँको भनाइ छ । “यो शनिबार धेरै नि भिड छ । व्यापार पनि राम्रो नै भएको छ । दशैँको अन्तिम हाट भएकाले पनि भिड लागेको हो,” शाहले भन्नुभयो । कपडा र श्रृंंगार मात्र हैन भाडाकुडाको व्यापार पनि बढेको भाडा पसलका सञ्चालक सुरेश शाहले बताउनुभयो । “आज विहान देखि ३० हजार भन्दा बढीको कारोबार भएको छ । धेरैले दशैँका लागि मासु पकाउने भाडा तथा टिका लगाउने थालि लग्छन् ,” शाहले भन्नुभयो ,“पसलमा ग्राहकको भिड बढेसँगै भ्याइनभ्याइ भएको छ । हेर्नुस न भ्याइनभ्याइ छ । अब अरु दिन त्यति विक्री हुन्न् आजै हो । आज त खान छोडेर भएपनि व्यापार त गर्ने प¥यो ,।”

दशै किनमेलका लागि अन्तिम हाट भएकाले खसी बोकाको व्यापारमा पनि वृद्धि भएको व्यापारीहरुको भनाई छ । खसीबोकाको बजारमा जान नसक्ने मानिसको भिड रहेको बजारबाट फर्किदै गरेका कमलामाई नगरपालिका ७ का देवबहादुर आचार्यले बताउनुभयो । “खसिबोकाको बजारमा जान नसक्ने भिड छ । विहानै आएको भए सजिलै किनमेल गर्न सकिन्थोँ होला, यति बेला त केहि किन्न नसक्ने भिड छ,” उहाँले भन्नुभयो । बजारमा भिडभाड बढेसँगै चोरीको घट्ना घट्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी समेत खटिएका थिए ।

सिन्धुलीमाढीको शनिबारे हाटमा मात्रै आधा दर्जन प्रहरी सादा पोसाकमा खटाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार हुन सक्ने चोरीलाई मध्येनजर गरेर प्रहरी परिचालन गरिएको हो । सिन्धुलीमाढी लगाएत जिल्लाको मुख्य चोक तथा भिडभाड हुने सार्वजनिक स्थलमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया