मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

के भन्छन सिन्धुलीका बाढीपहिरोका प्रभावित स्थानीय सरकार प्रमुख ?

आइतवार , आश्विन २०, २०८१

सिन्धुली– बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका मुहान मर्मत गर्ने, विच्छेद भएको विद्युत् आपूर्ति सञ्चालन गर्नेलगायत कार्यलाई स्थानीय सरकारहरूले प्राथमिकतामा राखेका छन् ।

यस पटक बाढीपहिरोबाट बढी प्रभावित सिन्धुलीका स्थानीय जनप्रतिनिधिले मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडक मर्मत गरेर जनतासँग पहुँच स्थापित, विद्युत्का ढलेका पोल मर्मतसम्भार गर्ने तथा क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरणजस्ता आधारभूत सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको प्रतिक्रिया दिनुभयो ।

ंढंबाढी प्रभावित क्षेत्रमा भएका क्षति तथा राहत र पुनःनिर्माणका विषयमा राखेको जिज्ञासा उहाँहरूले आ–आफनो क्षेत्रमा मानवीय तथा भौतिक पूर्वाधारमा भएका क्षतिको विवरण संकलन तथा राहत वितरणलगायतका प्राथमिकताबारे व्यक्त गर्नुभएको छे ।

कृषि क्षेत्रमा भएको क्षतिमा ध्यान केन्द्रित गर्छौँ : दीपा दहाल (बोहरा), अध्यक्ष, सुनकोशी

बाढीपहिरोपछिको अवस्था निकै जटिल छ । स्थानीय तह र संघसंस्थाबाट पीडित परिवारलाई राहत पुर्‍याउने काम तदारुकताका साथ भइरहेका छन् । विपद्मा स्थानीय तह र ती संस्था सारथी भएर जनताका घरदैलोमा पुगेका छन् । छिमेकी पालिका कमलामाई, दुधौली र मरिणले केही आर्थिक सहयोग उपलब्ध गराइ सकेका छन् ।

रेडक्रस, रिलिफ र वर्डभिनका प्रतिनिधिले प्रभावित क्षेत्रमा पुगेर सहयोग गरिरहनुभएको छ । उहाँहरूमध्ये कसैले खानेपानी, कसैले स्वास्थ्य, कसैले आवासमा सहयोग पु¥याउनुभएको छ । अप्ठेरोमा परेका व्यक्ति र समाजका लागि कुनै न कुनै माध्यमबाट सहयोग पु¥याउन स्थानीय सरकार प्रदेश र संघ सहकार्य गर्दै अगाडि बढेको छ । साथै त्यसका लागि संघ र प्रदेश सरकारबाटै शीघ्र सहयोग, समन्वय र योजनाको अपेक्षा गरिएको छ ।

बाढीबाट क्षतिग्रस्त जग्गाजमिन, घरजग्गा, खेतीबाली, पुलपुलेसा, खानेपानी, सडकमा बढी क्षति पुगेको छ । गड्तिर भेगका कैयौँ फाँटमा बाढी पसेर बाली नष्ट भएको छ । माटो थुप्रिएका ठाउँमा केही समयपछि त्यसलाई सम्याएर उब्जाउ गर्न सकिएला तर बगाएर लगेका स्थानमा भने गम्भीर समस्या हुन्छ । स्थानीय तहका सबै पदाधिकारी बसेर अब कसरी अघि बढ्ने भनी छलफल भइरहेको छ । संघीय र प्रदेश सरकारले कृषिमा नै बढी ध्यान दिएर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग छ ।

यस विपद्बाट सुनकोशी गाउँपालिकामा तीन अर्ब नौ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । मानवीयसँगै बाटो, बाली, विद्युत् र खानेपानीमा बढी क्षति भएको छ । पालिकाभित्र १३ वटा विद्यालयमा पूर्णरुपमा क्षति भएका छन् । दसैँ लगत्तै कसरी विद्यालय सञ्चालनमा ल्याउने भन्ने अहिले गम्भीर प्रश्न उठेको छ । यो ठूलो समस्या हो ।

बाढीले मुहान बगाएपछि गाउँमा खानेपानीको गम्भीर समस्या देखिएको छभने बाटो पनि त्यस्तै छ । रोग र महामारीको डर र भय पनि उत्तीकै छ । बाढीले गाउँपालिकाभित्रका ३७ वटा लिफ्टिङ खानेपानी आयोजनामा क्षति पु¥याएको छ । मुहान सफा गरी पानी वितरण गरिए पनि उपलब्ध पानी गुणस्तरीय र शुद्धताको प्रश्न रहन्छ । यस पटक दसैँलगायत चाडपर्व अघिल्ला वर्षजस्तै हर्षाेल्लास नभई खल्लो हुने स्वतः पूर्वानुमान गर्न सकिन्छ ।

बाढीसँगैको लेदो माटो पन्छाउन निकै समस्या भइरहेको छ । प्रभावित भेगमा शौचालय जाने पानी छैन । हामीले पहिला सडकको पहुँच स्थापित गर्ने, खानेपानी आपूर्ति गर्ने, विद्युत् सञ्चालनको कामलाई एकैसाथ लिएर जानेगरी प्राथमिकता निर्धारण गरिएका छौँ । विद्युत् प्राधिकरणले यस क्षेत्रमा द्रूत गतिमा काम गरिरहेको छ । केही दिनमै अब विद्युत् आपूर्ति हुन सक्छ ।

सुनकोशी गाउँपालिकाभित्र १०६ घरमा बाढीपहिरोले नोक्सानी पु¥याएको छ । स्थानीय तहले १० वर्षसम्म भित्र आधारभूत रुपमा सबै काम सम्पन्न गर्ने कार्यतालिका निर्धारण गरेको थियो । तर यस पटकको बाढीले त्यो योजना चकनाचुर बनाइदियो । फेरि शून्यदेखि सुरु गर्नुपर्ने अवस्था आएको छ ।

बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने भयो : शंकरराज बराल अध्यक्ष, गोलञ्जोर गाउँपालिका

खुर्कोट बजारमा सुनकोशी बाढी पसेर ३५ भन्दा बढी घर र पसल डुबान परे । पुरिएका भौतिक संरचनाभित्र र वरपरको बालुवा हटाउने र घर सफा गर्ने कार्य स्थानीय तह तथा नेपाल प्रहरी खटिरहेको भइरहेका छन् । बाढीले बगाएको सुनकोशीको पुलको स्थानमा बेलिबृज जडानका लागि नेपाली सेनाबाट अध्ययन भइरहेको छ ।

पहिलो चरणकोे तत्कालीन मानवीय सहायता करिब ८५ घरपरिवारलाई वितरण गरियो । पुरिएर नोक्सानी भएका धान खेत सम्याउने र मिलाउने काम स्थानीय सरकारबाट हुनुपर्छ भन्ने जनताको माग छ । जनअपेक्षाअनुरुप नै त्यो काम गर्ने प्रतिबद्धता स्थानीय तहले जनाएका छन् ।

सुनकोशीबाट खानेपानी र सिँचाइका लागि लिफ्ट गरिएका आयोजनामा बाढीले ठूलो क्षति पुर्‍याएको छ । त्यसको सरसफाइ र मर्मत कार्यमा तत्काल केही समस्या भएको छ । विकल्पका रुपमा पाइपको व्यवस्थापन गरी अघि बढ्ने प्रक्रिया भने सुरु भइसकेकोे छ । बाढीले गाउँपालिकाभित्रका १६ भन्दा बढी लिफ्ट आयोजनामा नोक्सानी पुर्‍याएको छ । त्यसबाट खुर्काेटको बजार क्षेत्र, हैवारबेँसी, बलेनीलगायत क्षेत्र खानेपानीबाट बढी प्रभावित छन् ।

यस पटकको विपद्बाट पालिकाभित्र गड्तिर भेगका करिब ८५ घर क्षति भएको प्रभारम्भिक तथ्यांक आएको छ । बाढीबाट गड्तिर भेग मात्र नभई महाभारत क्षेत्रका घरहरू पनि जोखिममा छन् । अलिकति पानी पर्ने बित्तिकै घर लड्ने, बग्ने र पहिरोमा पर्ने सम्भावना निकै ठूलो छ । त्यस्ता संकटउन्मुख घरको संख्या डेढ समय माथि रहेका छन् ।

बाढीबाट बढी प्रभावित खुर्काेट बजारमा व्यपार–व्यवसाय गर्ने व्यक्ति स्थानीय नभई अन्य जिल्लाका भएकाले उहाँहरूलाई हामीले तीन दिन मेस चलाएर खाना खुवाइयो । पहिलो चरणको राहत पाएपछि उहाँहरू आफ्ना स्थायी बसोबास भएको ठाउँमा फर्कनुभयो । बाँकी रहेका व्यक्ति पनि बजार वरपर रहेका आफ्ना पुराना घर सफा सुग्घर गर्दै हुनुहुन्छ । यस पटकको दसैँ त्यही पुरानै घरमा मनाउनेजस्तो देखिएको छ ।

भौतिक पूर्वाधारका क्षेत्रमा बढी नोक्सान भनेको खुर्काेट बजार नै हो । दसैँ नजिक बाढी आएकाले व्यापारीले धेरै सामान खरिद गरेर राखेका थिए । त्यसमा ठूलो नोक्सानी भयो । डुबानमा परेका घर बस्न योग्य छैनन् । बढीपहिरोबाट पालिका भित्रका खेतमा लगाएको धानबाली पुरिएर नोक्सानी भएको छ । धानबाली नै खतम भएकाले वर्षभर के खाने भन्ने किसानलाई चिन्ता छ । खेत सफा गर्दिएर अर्काे बालीनाली लगाउने वातावरण बनाउने र यातायात सञ्चालन गर्नुपर्ने चुनौती छ ।

अर्कातर्फ बिपी राजमार्ग फेरि नयाँ बनाउनुपर्ने गरी भत्किएको छ । अहिले तत्कालका लागि मध्यपहाडी सडक आयोजनाको सहयोगमा अहोरात्र खटिएर साना गाडी छिचोल्ने ढंगबाट मात्र राजमार्ग सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया