मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

बिपी राजमार्गको वैकल्पिक सडक खुलाउने तयारी

शनिवार , आश्विन १९, २०८१

सिन्धुली १९ असोज — काभ्रेको भकुन्डेबेंसीबाट तिमाल खैरेनीहुँदै मध्यपहाडी लोकमार्ग भएर रामेछापको सित्खा पुलबाटबाट सुनकोसी नदी पार गरी बीपी राजमार्ग निस्कने छोटो दुरीको वैकल्पिक सडक  सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

भकुन्डेबेंसीबाट तिमाल खैरेनी हुँदै मध्यपहाडी राजमार्ग भएर सित्खासम्म आइपुग्न करिब ३५ किलोमिटर दुरी रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले जानकारी दिएका छन् ।

धुलिखेलबाट भकुन्डेबेंसी २५ किलोमिटर र भकुन्डेबेंसी–सित्खा ३५ किलोमिटर गरी ६० किलोमिटरमा एकतर्फी सञ्चालनमा रहेको सडक सुनकोसी गाउँपालिका-३ को बीपी राजमार्गमा जोडिन्छ । रामेछाप र सिन्धुलीको सीमानाको सुनकोसी नदीको पक्की पुल सञ्चालनमा छ ।

राज्यमन्त्री तामाङ बीपी राजमार्ग भएर सित्खाहुँदै सोही रुट प्रयोग गरेर काठमाडौं जानका लागि यात्रारत छन् ।  यात्रुसवाहक बस सञ्चालनमा ल्याउने तयारी भइरहेको  राज्यमन्त्री तामाङको भनाइ छ ।

खुर्कोट–नेपालथोक खण्ड अन्तर्गत बीपी राजमार्ग भएर खुर्कोटबाट सित्खा पुग्नको लागि २० किलोमिटर छ । भकुन्डेबेंसीबाट बीपी राजमार्ग भएर खुर्कोट पुग्न ५९ किलोमिटर छ भने तिमाल हुँदै खुर्कोट पुग्न ५५ किलोमिटर मात्रै छ । यता बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलिखेल खण्डमा अस्थायी सडक निर्माण जारी छ ।

यो सडक खुलेपछि  काभ्रेको भकुण्डेबेसीबाट रामेछापको सित्खा बजार निस्कन ३५–४० किलोमिटर कच्ची सडक पार गर्नुपर्ने रामेछापको खाँडादेवी गाउँपालिका –३ भीरपानीका वडा सदस्य राजेश कार्कीले बताए ।

यो सडक आइतबारदेखि खुलाउने गरी काम भइरहेको उनले बताए । उनले भने, “मन्थली–सित्खा–तेमाल–भकुण्डेबेसी–काठमाडौँ सडक खुलाउने काम भइरहेको छ । अहिले मध्य पहाडी लोक मार्गमा खसेको पहिरो पन्छाउने काम जारी छ । दुई ठाउँमा ठुलो पहिरो खसेकोमा अब एक ठाउँको मात्र पहिरो पन्छाउन बाँकी छ । भोलिदेखि यो बाटो खुलाउने गरी लागिपरेका छौँ ।”

काभ्रेको मंगलटारसम्मको ८ किलोमिटर सडक छिटो भन्दा छिटो सञ्चालन हुने स्थानीयले जनाएका छन् । दोलखाबाट रामेछाप हुँदै बीपी मार्गमा जोडिने सडकमा पहिरो गएर अवरुद्ध भएकाले साना सवारीका लागि भकुन्डेबेंसी–सित्खा सडक उपयुक्त हुनसक्छ ।

 

प्रतिक्रिया