सिन्धुली — बीपी राजमार्ग अन्तर्गतको नेपालथोक–धुलिखेल खण्डको धेरै ठाउँमा सडक बाढीले बगाएका कारण राजधानी संग सडक सम्पर्क विच्छेद भएका बेला सिन्धुली बाट राजधानी काठमाडौंसम्म जान थप वैकल्पिक सडक मार्ग खुलेको छ । सिन्धुली, रामेछाप, ओखलढुंगा र सोलुखुम्बु लगाएत पुर्वि तराईका सवारीसाधनका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग सञ्चालनमा आएको हो । पहिरोले अवरुद्ध भएको दोलालघाटदेखि जिरोकिलो हुँदै नगरकोटबाट जगाती आउने अर्को सडक सोमबारदेखि नै सञ्चालनमा छ ।
पुर्वितराईबाट सिन्धुलीको मूलकोट नजिकैसम्म बीपी राजमार्ग सञ्चालनमा छ । खुर्कोटबाट ३० किलोमिटर यात्रापछि रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल भएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पार गरेपछि मन्थली निस्कन सकिन्छ । उक्त सडक कालोपत्र छ ।
मन्थलीबाट सिधै पुष्पलाल राजमार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्गबाट राजधानी जोडिन्छ । सिन्धुली बाट यो वैकल्पिक मार्ग प्रयोग गरेर राजधानी पुग्न २ सय ७८ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ ।