मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

बाढीले खोसेको खुर्कोटको खुसी

बिहिवार , आश्विन १७, २०८१

सिन्धुली – माथि सुक्खा डाँडो र तल सुनकोशी बीचमा बसेको खुर्कोट बजारमा बीपी राजमार्ग सञ्चालनमा आउनुभन्दा पहिले खास चहलपहल थिएन । जब बीपी राजमार्ग खुल्यो त्यसपछि खुर्कोट चम्कियो । एक हिसाबले भन्ने हो भने खुर्कोटबासीका आधा दुःख मात्रै सकिएनन्, व्यापारिक केन्द्र पनि बन्यो खुर्कोट ।

बीपी राजमार्ग सञ्चालनमा आएको यो १० वर्ष बीचमा खुर्कोट जति चम्कियो, अहिलेको यो विपत्तिको क्षति पनि कम छैन । दशैं मुखमा भरिभराउ हुने खुर्कोट बजारमा अहिले सन्नाटा छाएको छ । दैनिक हजारौं यात्रुलाई खाना खुवाउन अभ्यस्त होटलहरू अहिले लथालिंग छन् । सडक सञ्जाल जोडिएपछि बनेको बसपार्क र त्यसवरपर बसेको बस्ती सुनकोसी नदीमा आएको बाढीले बगाइदिएको छ ।

खुर्कोटको पक्की पुल त सुनकोशीले बगायो नै, करिब २ सय वर्ष पुरानो झोलुङ्गे पुलसमेत बगाएको छ । सडक जोडिनुअघि नै पुलको मुखमा रहेको बस्तीका घरहरू पनि कोसीले बगाएको छ ।

व्यापार गरेर मालामाल हुने समयमा खुर्कोट उजाड बनेको छ । “यो समयमा खुर्कोटवासीलाई व्यापार गरेर भ्याइ नभ्याइ हुन्थ्यो । तर, अहिले आधाजस्तो बस्ती कि त बगेको छ, कि डुबेको छ, राजधानी काठमाडौंसँगको सडक सम्पर्कविच्छेद भएपछि बचेको बजारमा पनि व्यापार शून्य छ । दशैं मुखमा खुर्कोटवासीको खुसी खोसिएको छ,” खुर्काेटका समाजसेवी फणिन्द्र श्रेष्ठ भन्नुहुन्छ ।

पूर्वी नेपाललाई संघीय राजधानीसँग जोड्ने बीपी राजमार्गमा पर्ने खुर्कोट–नेपालथोकमा मानवीय क्षति नभए पनि भौतिक क्षतिको विवरण भने ठूलो छ । सहरका रूपमा तीव्र गतिमा विकास भइरहेको खुर्कोटमा ठुल्ठूला भौतिक संरचना निमार्ण भएका थिए । केही निर्माणकै प्रक्रियामा थिए । तर, १२ र १३ असोजमा आएको बाढीले भौतिक संरचनामा ठूलो क्षति गरेको छ ।

वर्षासँगै रातको समयमा सुनकोशीमा ठूलो बाढी आएकाले पनि झन ठूलो क्षति भएको खुर्कोटवासीहरू बताउँछन् । “बाढी दिउँसो आएको भए सामान सार्न सकिन्थ्यो होला । अलि कम क्षति हुन्थ्यो । तर, रातको समयमा बाढी आएको ठूलो आर्थिक क्षति खुर्कोटले बेहोर्नुपरेको छ,” स्थानीय नमस राई भन्नुहुन्छ ।

सुनकोशीको बाढीले खुर्कोट बसपार्क रहेको तल्लो बजार क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । तल्लो बजार क्षेत्रका करिब १ सय ५० घर डुबानमा परे । नदी किनारका केही घर त बाढीले बगाएर समेत लग्यो । डुबान र कटान दुवै हुँदा खुर्कोटले ठूलो क्षति बेहोर्न पुग्यो ।

गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बराल भन्नुहुन्छ, “भौतिक क्षति ठूलो रूपमा बेहोर्नुपरेको छ । अहिले पनि हामी क्षतिको यकिन विवरण संकलन र राहतमा खटिएका छौं । पहिलाकै अवस्थामा आउन लामै समय लाग्ने देखिन्छ ।”

बाढीका कारण अहिले खुर्कोटको ३ सय रोपनी धानखेत बगरमा परिणत भएको छ । तल्लो बजारमा भीमज्योति क्याम्पसको जग्गा थियो । उक्त जग्गामा क्याम्पसले भाडामा दिएको थियो । जहाँ ३४ घर बनेका थिए । तीमध्ये अहिले २७ घर बगाएका छन् । ७ घर बाँकी रहेकोमा ती पनि पूरै डुबानमा परेकाले ठूलो क्षति भएको गोलन्जोर–७ का अध्यक्ष रेगनराज थापा बताउँनुहुन्छ ।

खुर्कोटमा ठूलो सहर बनाउने गरी पूर्वाधार निर्माणको काम पनि भइरहेको छ । यसको प्रत्यक्ष असर तीव्र गतिमा भइरहेकाले विकासमा ‘ब्रेक’ लाग्न सक्ने खुर्कोटवासीको चिन्ता छ । “जुन ढंगले व्यापारिक केन्द्र बन्दै ठूलो सहरका रूपमा खुर्कोट विकास हुँदै थियो । अहिलेको यो क्षतिको ड्र–ब्याकका रूपमा तीव्र विकासमा ब्रेक लाग्ने त होइन भन्ने प्रश्न पनि उठेको छ,” स्थानीय समाजसेवी श्रेष्ठ भन्नुहुन्छ ।

बीपी राजमार्गमा पर्ने काभ्रे रोशी क्षेत्रको सडकमा ठूलो क्षति परेपछि अहिले खुर्कोट चकमन्न छ । नेपालथोक–खुर्कोट बाटो चालु अवस्थामा रहे पनि रोशी नदीले करिब २ किलोमिटर सडक पूर्णरूपमा बगाएपछि राजधानीसँगको सम्पर्कबाट खुर्कोट टाढा छ ।

प्रतिक्रिया