मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday 10th November 2026

सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी

बिहिवार , आश्विन १७, २०८१

सिन्धुली – केही दिनअघिको अविरल वर्षाका कारण सिन्धुलीको गडतिर भेगमा सडक, पुल, भवन, खानेपानीलगायत पूर्वाधार र कृषिबालीमा ठूलो नोक्सानी भएको छ । यस भेगका विभिन्न क्षेत्रमा आवासीय तथा व्यावसायिक भवन डुबानमा परेका छन् भने विद्यालय भवन र स्वास्थ्य संस्थाहरु पनि ठूलो संख्यामा प्रभावित भएका छन् । खानेपानी र विद्युत् आपूर्तिमा समस्या देखिएको छ । पाक्ने बेलाको धानबालीमा नदी र खोला पसेर क्षति पुर्‍याएको छ ।

बाढी, पहिरो र डुबानका कारण सिन्धुली जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा मात्रै करिब एक हजार ५०० बिघा क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ । विपद्का कारण जिल्लाका यी तीनवटा पालिका सबैभन्दा बढी प्रभावित भएका छन् । त्यस्तै, सुनकोशी गडतिर क्षेत्रमा मात्रै करिब छ सय बिघा खेतीयोग्य जमिनमा सुनकोशी नदी र रोशी खोलाले पुरेर बालीनालीमा क्षति पुर्‍याएको छ । खेत खण्डहरमा परिणत भएका छन् ।

जिल्लामा प्राकृतिक प्रकोपको असर अकल्पनीय र क्षति ठूलो छ । छोटो समयमा आधुनिक र पर्यटकीय सहरतर्फ उन्मुख भइरहेका खुर्कोट, नेपालथोक र मूलकोटमा अर्बौंको लगानीमा खोलिएका होटल र रिसोर्टमा ठूलो क्षति पुगेको छ । फाँटहरु नदी कटानमा परेका छन् । निजी घर, विद्यालय, वडा कार्यालयलगायत संरचना र बस्ती डुबानमा परेर क्षति पुगेको छ । बाढीले घर पुरिएकाले घरभित्रका सामानहरु के–कस्तो अवस्थामा छ भन्ने हालसम्म यकिन नभएकाले पीडितहरु चिन्ता छन् ।

नेपालथोकदेखि भकुण्डेसम्म मुख्य रुपमा सडकमा ठूलो समस्या छ । करिब तीन किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ । सुनकोशी माथिको सित्खा, खुर्कोट र रोशीका विभिन्न ठाउँमा पक्की पुलसमेत बाढीले बगाएको अवस्था छ ।

फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालका अनुसार फिक्कल गाउँपालिकामा नदी कटान र डुबानबाट निकै ठूलो क्षति भएको छ । खेतीयोग्य जमिनमा नदीको भंगालो पसेका छन् । केही घर बगाएको छ । पालिकाको सुम्नाङबेँसी, झहरे, सोखुबेँसी, सर्किनीबँेसी, बान्द्रेबेँसीलगायत स्थान बढी प्रभावित भएका छन् । विद्यालय भवन, झोलुंग्े पुल, स्वास्थ्यचौकीहरुमा क्षति पुगेको छ ।

गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार)का अनुसार, गोलन्जोर गाउँपालिकाको खुर्कोट क्षेत्रमा मात्र करिब ३५ घरमा क्षति हुँदा ६२ परिवार पूर्ण रुपमा प्रभावित भएका छन् । त्यो क्षेत्रमा ४० वटाको हाराहारी पसलमा क्षति पुगेको छ । के–कति धनजनको क्षति भएको भन्ने विवरण संकलन हुँदैछ । त्यस्तै, बलेनी क्षेत्रमा ११ घर डुबाएको छ । मुर्की, च्याकुटारबेँसी, र बलेनीका तीनवटा प्राथमिक विद्यालय डुबानमा परेका छन् । पालिकाको छ नम्बर वडा कार्यालयमा पनि बाढी पसेर क्षति पुगेको छ ।

मध्यपहाडी लोकमार्गअन्तर्गत हैबार, हर्देनी, कुखुरेटारमा ठूलो पहिरोका साथै त्यहाँका झोलुंगे पुलमा क्षति पुगेको छ । खुर्कोटका दुईवटा र दिङदिङको माथिल्लो क्षेत्रको पुल बगेको छ । मध्यपहाडी राजमार्ग पुरैजसो पुनः निर्माण गर्नुपर्ने भएको छ । सबै बिग्रिएको छ । त्यसमा करोडौँ खर्च हुने देखिएको छ । सिन्धुलीमा सुनकोशीपछि गोलन्जोर गाउँपालिकामा बढी क्षति देखिएको छ ।

नेपालथोकबाट घुर्मीसम्म बिपी राजमार्ग र मध्यपहाडी राजमार्गका धेरै ठाउँमा सडक भत्किएको, भासिएको, माथिबाट पहिरो खसेर ठूलो क्षति भएको छ । सडक भएको ठाउँमा नदीको भंगालो र खोलो पसेको छ । गोलन्जोरको मात्र करिब ३० बिघा धान खेतमा क्षति पुगेको छ । खुर्कोट, दिङदिङ्, हैबार, मुर्की, कुखुरेटारलगायत क्षेत्र बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया