सिन्धुली – मदन भण्डारी राजमार्गमा सवारी साधनको चाप ह्वातै बढेको छ । विपि राजमार्ग अवरुद्ध भएसँगै मदन भण्डारी राजमार्गमा सवारी चाप बढेको हो ।
हेटौँडा हुदै काठमाडौँ जाने र आउने सवारीको चाप मदनभण्डारी राजमार्गमा देखिन्छ । राजमार्गमा सवारी साधनको चाप बढेको सिन्धुलीको मरिण गाउँपालिका १ का लोकेन्द्र सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “सधै जसो सुनसान हुने मदनभण्डारी राजमार्ग अहिले चहलपहल छ । पुर्व जाने र काठमाडौँ जाने तथा आउनेहरु यहि राजमार्ग हुदै जाने गर्दछन् । पुर्वका सवारी सिन्धुली हुदै हेटौँडाबाट काठमाडौँ पुग्ने गरेका छन् भने काठमाडौँबाट हेटौडा सिन्धुली हुदै पुर्व जाने सवारी बढी छन् । मदन भण्डारी राजमार्गमा सवारी साधनको लर्को नै देखिन्छ ।”
सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम समेत बढेको स्थानीयले बताएका छन् । कमलामाई नगरपालिका १ डाढीका सबिता न्यौपानेले भन्नुभयो, “बाटो ठुलो र सिधा देखेपछि जो कोहिले पनि तिव्र गति चलाउने गर्दछन् । पहिलो पटक यस राजमार्गमा सवारी चलाउने पनि धेरै छन् । उनीहरु सिधा र ठुलो सडक देखेपछि तिव्र गतिमा सवारी चलाउँछन् । यसले गर्दा सवारी दुर्घटना हुने धेरै जोखिम हुन्छ । राजमार्गमा दैनिक सवारी दुर्घटनाको घट्ना घटिरहेको छ ।”
सवारी दुर्घटना न्यूनिकरण गर्न राजमार्गमा प्रहरी परिचालन
मदनभण्डारी राजमार्गमा सवारी साधनको चाप बढेसँगै सवारी दुर्घटना न्यूनिकरण गर्न प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार मदनभण्डारी राजमार्ग अन्र्तगत सिन्धुली हुदै आउने सवारीको चेकजाँचका लागि प्रहरी परिचालन भएका छन् । मकवानपुरबाट सिन्धुली भित्रिने सिमानामा सवारी साधनको चेकजाँच गरि अभिलेख राखिने छ । “सिन्धुलीको सिमानामा सवारी साधनको इन्ट्रि हुन्छ । काठमाडौँबाट मदनभण्डारी राजमार्ग अन्र्तगत हेटौडा सिन्धुली हुदै पुर्व जाने सवारीको संख्या अहिले बढेको छ । सवारीको चाप बढेसँगै दुर्घटनाको जोखिम भएकाले हामीले राजमार्गको ठाउँठाउँमा प्रहरी परिचालन गरेका छौँ, ” उपरीक्षक काफ्लेले भन्नुभयो ।
मदनभण्डारी राजमार्गको विभिन्न स्थानमा ट्राफिक प्रहरी सहितको टोलीले सवारी चेकजाँच साथै गति नियन्त्रण गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । राजमार्गमा सवारी साधनको गति नियन्त्रण लगाएत क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने सवारी साधनलाई कारबाही गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “राजमार्गमा तीव गतिमा कुद्ने सवारी साधनलाई कारबाहि गरीनेछ । हामीले सिट क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने, मापसे लापेस गरेर सवारी चलाउने लगाएत ट्राफिक नियम पालना नगर्ने सवारीलाई कारबाही गरिरहेका छौँ । अहिले विपि राजमार्ग अवरुद्ध छ । नेपालीको महानपर्व दशै, तिहार र छठ नजिकिएसँगै चाडपर्व मनाउन घर फर्किनेको नागरिकको संख्या समेत बढेको छ । यो समय सवारी साधनले यात्रुसँग बढी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रु राख्ने, चोरी लुटपाट लगाएतको घटना बढ्ने भएकाले सर्तक हुनु होला ।” प्रहरीले हुन सक्ने चोरी र लुटपाटको घटनालाई दृष्टिगत गरि प्रभावकारी ढंगबाट सुरक्षा व्यवस्था मिलाएको उपरीक्षक काफ्लेले बताउनुभयो । साथै उहाँले लामो दुरीको यात्रा गर्दा सर्तक रहेर यात्रा गर्न अनुरोध समेत गर्नुभयो ।
राजमार्गमा विस्कनु नसुकाउन मरिण गाउँपालिकाको आग्रह
यसैगरी मदनभण्डारी राजमार्गमा निर्माण सामाग्री साथै विस्कुन नसुकाउन मरिण गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना जारी गदै राजमार्गको सडक र सडक पेटीमा निर्माण सामग्री राखे, विस्कुन सुकाउने, राजमार्ग एवं राजमार्गको मुख्य भाग वरपर तथा सार्वजनिक स्थलहरूमा भिडभाड गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
“हाल सालैको मनसुनी वर्षाको कारण वि.पि. राजमार्ग लगायतका राजमार्ग अवरुद्ध हुन गई यातायात सञ्चालनमा कठिनाइ भएकोले काठमाडौँ लगायत अन्य स्थानहरूमा जान÷आउनको लागि वैकल्पिक राजमार्गको रूपमा मदन भण्डारी राजमार्ग प्रयोग हुने अवस्थालाई मध्यनजर गर्दै मदन भण्डारी राजमार्गको चापलाई ध्यानमा राखि सडक प्रयोग विशेष ध्यान दिने, सडक र सडक पेटीमा निर्माण सामग्री राखे, विस्कुन सुकाउने, राजमार्ग एवं राजमार्गको मुख्य भाग वरपर तथा सार्वजनिक स्थलहरूमा भिडभाड गर्ने जस्ता क्रियाकलाप नगर्नु हुन मरिण गाउँपालिका बासी नागरिकहरुमा हार्दिक अनुरोध छ ,” सूचनामा भनिएको छ । यस्तै तीव्र गतिमा सवारी साधन नचलाउने तथा मौसमको अवस्था आँकलन गरी सम्भावित विपर्जन्य घटनाहरूबाट सचेत भई यात्रा गर्न समेत गाउँपालिकाले अनुरोध गरेको छ ।