सिन्धुली – कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बाढी पहिरोको विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर सामना गर्न सबैमा आह्वान गर्नु भएको छ । कमलामाई नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै मेयर पोखरेलले अविरल वर्षाले निम्त्याएको विपद्प्रति दुःख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गर्नु भएको हो ।
संकटमा परेका नागरिकको उद्धार, पुनःस्थापना क्षतिको विवरण संकलन गरी पीडित नागरिकलाई राहत र क्षतिपूर्ति प्रदान गर्न तथा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा लाग्न आग्रह गर्नु भएको छ ।
उहाँले भन्नुभयो, “अविरल वर्षाले सिन्धुली पनि अछुतो रहेन । सिन्धुलीको उत्तरी क्षेत्रहरू सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकामा बाढी पहिरोले धेरै नै क्षति गरेको छ । छिमेकीकोमा चाहिँ विपत्ति आयो, तर मेरोमा चाहिँ आएन भनेर बस्ने हाम्रो मानसिकता छ । यो प्रकृतिले निम्त्याएको विपत्ति हैन, यो हामीले नै निम्त्याएको हो । हाम्रै विकास मोडलले निम्त्याएको हो। त्यसैले सबैको साझा चुनौती हो, मिलेर सामना गरौँ ।”