बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

मध्यपहाडीको लोकमार्गको खुर्कोट–घुर्मी खण्डमा पहिरो पन्छ्याइँदै

मंगलवार , आश्विन १५, २०८१

सिन्धुली — मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी खण्डको ६१ किलोमिटरमा दर्जनौ स्थानमा खसेको पहिरो हटाउने कामलाइ तीव्रता दिइएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अक्करे भिरमा करिब ५ सय मिटर सडकमा पहिरो खसेको छ । अक्करे भिरमा जेसीभी, एक्स्काभेटर, र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

अक्करे भिरको पहिरोले सधैं सास्ती दिने गरेकोमा अहिलेको वर्षाले झन थपेको स्थानी बताउँछन् । यो पहिरो सफा गर्न फेरि पानी नपरे अब दुई दिन लाग्ने प्रहरीको अनुमान छ । बिहान ४ बजेदेखि नै मेसिन प्रयोग गरेर काम भइरहेको बागमति प्रदेशका पुर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवालले जानकारी दिनुभयो । स्थानीय तह, संघीय सरकार र आयोजनाका मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम भएको छ ।

गोलन्जोरमा मात्रै हैबारबेंसी, बलेनी, कुखुरेटार, काली आँप, कुँडुले, मुर्कबेसी तथा फिक्कल गाउँपालिकाको सम्नामवेशी, नवलपुर, निगुरेखोला, पञ्चकन्या र थोल्मेघाट लगायतका स्थानमा पहिरो खस्दा लोकमार्ग अवरोध भएको छ । खुर्कोट– घुर्मी खण्डमा पर्ने खोलाहरूमा भने पानीको बहाव घट्नासाथ सवारी साधनहरु वारपार गर्न सकिने फिक्कल गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताउनु भयो ।

सिन्धुलीको पूर्वी भेगका साथै उदयपुर, ओखलढुङ्गा,सोलुखुम्बु, खोटाङ र भोजपुरको राजधानी काठमाडौंसँग जोडिने मुख्य मार्ग यही मध्यपहाडी लोकमार्ग हो । बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड अवरुद्ध भएको अवस्थामा पनि यी पूर्वी पहाडी जिल्लाका यात्रुहरू खुर्कोट हुँदै बीपी राजमार्ग भएर सदरमुकाम सिन्धुलीमाडीबाट मदन भण्डारी राजमार्ग प्रयोग गरेर हेटौंडाबाट काठमाडौं आवतजावत गर्न सक्छन् ।

चाडपर्व नजिकिएकाले यात्रुहरुको ओसारपसार र खाद्यान्न ढुवानीको लागी एकतर्फी भए पनि मध्यपहाडी सडक खुलाउनै पर्ने बाध्यता रहेको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बरालले बताउनुभयो । फिक्कलले घुर्मीतिरबाट र गोलन्जोरले खुर्कोटतर्फबाट आधा दर्जन मेसिन प्रयोग गरेर पहिरो पन्छाउँदै अघि बढेको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया