सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका ६ स्थितमा प्रहरी चौकी हषाहीको नवनिर्मित भवन उदघाटन गरिएको छ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले नवनिर्मित भवन उद्घाटन गर्नुभएको हो ।
नवनिर्मित प्रहरी चौकी भवनको उदघाटन गर्नुहुँदै मन्त्री लामिछानले नेपाल प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले प्रहरी आफैंलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताउनुभयो । मन्त्री लामिछानेले भौतिक संरचना सँगै अपराध नियन्त्रणमा प्रहरीलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल प्रहरीले गुणस्तरीय सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
नेपाल प्रहरी राज्यको सुरक्षा प्रदायक निकायको रुपमा अग्रपंक्तिमा रहेको उहाँको बुझाई छ । “प्रहरीले अपराध नियन्त्रण, रोकथाम, कानून कार्यान्वयन तथा सार्वजनिक सुव्यवस्था कायम गदैँ नागरिकको ज्यूधन, सार्वजनीक सम्पत्तिको रक्षा, समाजमा अमनचयन कायम राख्दै नागरिकको हरेक दुखमा सहयोगको लागि अग्रपंतिमा रहेर अब्बल प्रमाणित गदैँ आएको छ,” उहाँले भन्नुभयो ।
संविधानमा व्यवस्था भए अनुरुपको अधिकार प्रत्यायोजन र अधिकारको प्रयोग अझै हुन नसकेको भन्दै उहाँले गुनासो समेत गर्न भ्याउनुभयो । संघिय प्रहरी ऐन नआईकन प्रदेश प्रहरी सम्बन्धमा दुविधाको स्थिती रहेको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, “प्रहरी संगठन प्रभावकारी हुन कानुन, नीति, कार्यभार, रणनीति, योजना स्पष्ट रुपमा परिभाषित हुनुपर्छ । संघियताको सफल कार्यान्वयन गर्न पनि प्रदेश प्रहरी सम्बन्धमा सबै गम्भिर हुन जरुरी छ ।”
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्माको अध्यक्षतामा आयोजित नवनिर्मित भवनको उदघाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले भाडाको साँघुरो र पानी चुहिने घरबाट सेवा प्रवाह गदैँ आएको प्रहरी चौकी हर्षाही जगाडीलाई आफ्नै नयाँ भवन प्राप्त भएपछि गुणस्तरीय सेवा प्रवाह गर्न सहज भएको बताउनुभयो ।
बागमती प्रदेशको दुई करोड १० लाख ४१ हजार ८ सय ३६ रुपैया लागतमा प्रहरी चौकी भवन निर्माण भएको हो । प्रदेशको दुइ चरणको बजेटबाट भवन निर्माण भएको थियो । भवन निर्माणका लागि प्रहिलो चरणमा मनसारा सप्लाईस एण्ड कन्स्ट्रक्सन प्रालिसँग २०७८ बैशाख २३ गते सम्झौता भएको थियो । ३६ लाख १३ हजार ८८ रुपैया लागतमा सम्झौता भएको हो । दोस्रो चरणमा खानी च्यानेश्वरी जेभिसँग २०७८ चैत २४ गते सम्झौता भएको थियो । १ करोड ८७ लाख ५८ हजार ६२० मा सम्झौता भएको हो । स्थानिय स्व.फलाम सिंह घिसिङले नि ःशुल्क प्रदान गर्नुभएको पाँच कठ्ठा जग्गामा नवनिर्मित भवन ३३४.०४ वर्गमिटर क्षेत्रमा निर्माण भएको छ ।
प्रहरी चौकी भवन निर्माण भएसँगै दुधौली नगरपालिका वडा नम्बर ६ का करिब ७ हजार ३ सय ४४ जना प्रत्यक्ष लाभांमित हुनेछन् । तीनतलाको १४ कोठे भवन निर्माण भएको छ । महिला तथा पुरुष थुनुवा कक्ष, कार्यालय प्रमुख कक्ष, रिसेप्सन, गार्ड रुम, महिला व्यारेक, पुरुष व्यारेक, मनोरञ्जन कक्ष सञ्चार कक्ष, कार्यालय प्रमुख निवास, भान्छा तथा डाईनिङ रुम, भान्सा तथा स्टोर रुम डाईनिङ कक्ष, शौचालय, स्नान कक्ष सहितको व्यवस्थापन हुने गरी भवन निर्माण गरिएको प्रमुख काफ्लेले बताउनुभयो ।
भवन उदघाटन समारोहको अवसरमा जग्गादाता, भवन निर्माण कार्यमा उल्लेखनिय कार्य गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा, भौतक पूर्वाधार शाखाका प्रमुख प्रहरी नायव उपरिक्षक शम्भु प्रसाद कोईरी, जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख कारसाङ लामा, उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्मालगायत सरोकारवाला व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।