सिन्धुली – सिन्धुलीमा ५३ जनामा डेंगु संक्रमण पुष्टी भएको छ । मंगलवार थप ८ जनामा संक्रमण पुष्टि भएसँगै सङ्क्रमितको संख्या ५३ पुगेको हो । मंगलवार गरिएको परीक्षणमा दुधौली नगरपालिकामा ४ पुरुष १ महिला, कमलामाई नगरपालिकामा १ महिला, तिनपाटन गाउँपालिकामा १ पुरुष र मरिण गाउँपालिकामा १ महिला गरि ८ जनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका ल्याब टेक्नीशियन अधिकृत गंगाराम कार्कीले दिनुभयो ।
जिल्लाको नौँ वटा पालिकाहरु मध्ये ५वटा पालिकाबाट ५३ जनामा डेंगु संक्रमण पुष्टी भएको हो । प्रकोपको रुपमा दिन प्रतिदिन बढ्दै गइरहेको डेंगु संक्रमण सबैभन्दा बढि दुधौली नगरपालिकामा २९, कमलामाई नगरपालिकामा १५, मरिण गाउँपालिकामा ५, तीनपाटन गाउँपालिकामा ३ र फिक्कल गाउँपालिकामा १ गरि ५३ जना संक्रमित भएका छन ।
डेंगु भाइरस चार प्रजातिको हुन्छ–डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।