बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा काठ तस्करी बढ्यो

सोमवार , आश्विन ७, २०८१

सिन्धुली – सिन्धुलीका वनमा पछिल्लो समय चोरी तस्करी बढेको छ । सामुदायिक वन उपभोक्ता समितिहरुको कमजोर निगरानी र वन कार्यालयहरुको फितलो अनुगमनका कारण अवैध रुपमा काठ चोरी निकासीका घटना बढेका हुन् । प्रहरीले दैनिक अवैध काठ बरामद गरिरहेको छ ।

आइतबार दुधौली नगरपालिका ८ देउरालीमा स्थित फेदि खोरभञ्याङमा प्रहरीले अवैध काठ बेवारिसे अबस्थामा फेला पारेको छ । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरी अधिकृतको टोलीले तयारी अवस्थामा राखिएको साल जातको चिरान काठ बरामद गरेको हो । ७ फिट लम्बाइ भएको ५३ थान र ६ फिट लम्बाइ भएको ४९ थान चिरान काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी प्रमुख उपरिक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार ५७.५३ क्युफिटको १ सय २ थान चिरान काठ बरामद भएको हो । प्रहरीले अनुसन्धान पछि आवश्यक कारबाहस्को लागि सब डिभिजन बन कार्यालय दुधौली बुझाएको छ ।

विहिबार पनि प्रहरीले अवैध काठ सहित ३ जनालाई पक्राउ गरेको थियो । प्रहरी चौकि ढुंग्रेबासबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्ने क्रममा अवैध काठ बरामद गरेको थियो । विपि राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ६ मा अधेरीबाट ढुग्रेबास तर्फ लग्दै गरेको अवैध काठ सहित तीन जनालाई पक्राउ गरिएको हो । काजपत्र नभएको अवैध काठ सहित कमलामाई नगरपालिका ६ जसेदमारका २३ वर्षिय राम विकलाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै सोहि ठाउँका २४ वर्षिय अस्मि परियार र १९ वर्षिय दिपेश परियारलाई पक्राउ गरि आवश्यक कारबाहिको लागि डिविजन बन कार्यालय सिन्धुली पठाएको प्रहरीले जानकारी दिएको छ ।

जिल्लाको सामुदायिक बनमा बढी काठ चोरी हुने गरेको स्थानीयले बताएका छन् । विभिन्न सामुदायिक वनहरुमा अवैध रुपमा काठको चोरी निकासी बढेको स्थानियले बताएका हुन् । कतिपय ठाउँको जंगलमा तस्करी समूह हुल बाँधेर जंगलमै खाने बस्ने गरेर रुख ढाल्ने र काटेर चिरान र फाला तस्करी गर्ने गरेको प्रत्यक्षदर्शी बताउँछन् । सामुदायिक वनबाट काठ तस्करले दैनिकरुपमा काँचा सालका रुख काटेर लाने गरेको एक स्थानीयले बताए । वन कर्मचारीकै मिलेमतोमा चोरी तस्करी बढेको स्थानीयवासीको आरोप छ । तर, आवश्यक कर्मचारी नहुँदा चोरी तस्करी बढेको वन कर्मचारीहरू जिकिर गर्छन् । काठ चोरी तस्करीमा पक्राउ परेकालाई राजनीतिक दलका नेताहरूले नै छुटाउन दबाब दिने गरेकाले पनि तस्करी नरोकिएको कर्मचारीको भनाइ छ ।

जिल्ला पछिल्लो समय काठ चोरी हुने घट्ना बढ्दै गएकाले चोरी तस्करी रोक्न वन कार्यालयले गस्ती बढाउनुपर्ने कमलामाई नगरपालिका ५ का शिक्षक विशाल न्यौपानेले बताउनुभयो । वन कार्यालयले स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समिति र प्रहरी प्रशासनसँग समन्वय गरी नियमित गस्ती गरे काठ चोरी तस्करी रोक्न सकिने उहाँले बताउनुभयो । जंगलबाट हुने गरेको अवैध वन फँडानी तथा चोरी तस्करी रोक्न नियमित वन गस्ती गर्नुपर्ने उहाँको भनाई छ । काठ तस्करी कार्यमा जोसुकै संलग्न भए पनि पक्राउ गरी कारबाही हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया