काठमाडौँ, ६ असोज- नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
साइबर ब्यूरोबाट खटिएको टोली र भक्तपुर प्रहरीको सहयोगमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले जानकारी दिए ।
प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित उनको घरमै गएको थियो । घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेर भित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरीको साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् ।
पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’ प्रसाईंलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।