सिन्धुली – सिन्धुलीका कर्मकाण्डी पेशाका पुरोहितलाई पितृपक्ष (सोह्रश्राद्ध) मा श्राद्ध गराइ दिनुपर्ने दौडादौडले भ्याइनभ्याइ परेको छ । जारी पितृपक्ष (सोह्रश्राद्ध) मा एकपछि अर्का यजमानको बोलाहटमा श्राद्ध गराई दिनुपर्ने दौडादौडले पुरोहितलाई अहिले भ्याइनभ्याइ परेको हो ।
सोह्रश्राद्धमा आफ्ना दिवंगत आफन्तको विशेष विधिबाट पार्वण श्राद्ध गर्ने हिन्दू परम्पराका कारण एकै दिन चारपाँच ठाउँमा श्राद्ध गराउन पर्ने भएपछि पुरोहितको व्यस्तता निकै बढेको छ । कमलामाई नगरपालिका ४ का कर्मकाण्डी पेशाका पुरोहित रामप्रसाद दाहाल बिहान उज्यालो भएदेखि बेलुका साझँ सम्म श्राद्ध गराइ दिन हिड्नु हुन्छ । “विहान उज्यालो भएपछि घरबाट निस्किन्छु । दिनमा ३ घर सम्म भ्याउनु पर्छ । एउटा घरमा कम्तिमा पनि ३ घण्टा लाग्छ ,” पुरोहित दाहालले भन्नुभयो । सोह्रश्राद्ध सुरु भएदेखि एक दिन पनि थकान मेट्न नपाएको उहाँले बताउनुभयो । “गर्दै आएको संस्कार हो, सबै यजमानको चित्त त बुझाउनै पर्यो । दौडादौडले आफ्नै घरका परिवारजनलाई पनि घरकाजका कुरामा सल्लाह गर्न समय छैन उहाँले भन्नुभयो।
दाहालले सोह्रश्राद्धमा ५५ भन्दा बढी घरमा श्राद्ध गराइ दिदै आउनु भएको छ । उहाँका बुवा र तिन दाजुभाइ पनि कर्मकाण्डी पेशा गदै आउनु भएको छ । दाहालका परिवारले मात्र ५ सय भन्दा वढी घरमा श्राद्ध गदै आएको बताउँछन् । “बुवा, दाजुभाइ र मैले गरि जम्मा ५ सय भन्दा वढी घरमा यो सोह्र श्राद्धको बेला श्राद्ध गर्नु पर्छ । आलोपालो गरेर सबै ५ सय घरमा भ्याउनै पर्छ । विहान देखि सबै श्राद्ध गर्न हिड्छौ, यो बेला धेरै भ्याइनभ्याइ हुन्छ ,” पुरोहित दाहालले भन्नुभयो ।
सामान्यतया एकोदिष्ट श्राद्ध(आफन्त निधन भएको तिथिमा गरिने तर्पण श्राद्ध) सम्पन्न गर्न दुई घण्टा लाग्नेमा पार्वण श्राद्ध गर्नभने कम्तीमा साढे तीन घण्टा लाग्ने पुरोहित बताउँछन् । एकोदिष्टमा जुन पितृको तिथि हो, उनलाई मात्र पिण्ड दिइने हुनाले कम समय लाग्ने गर्छ । तर, पार्वण श्राद्धमा भने आफ्नो घर (पितृकूल), मावल (मातृकूल) का तीन पुस्तालाई नै संकल्प गरेर तर्पण पिण्ड दिनुपर्ने र थपमा गुरु, अविवाहित दिदीबहिनी तथा आफ्नै सन्तान नभएका दिवङ्गत काकाबाबुलाई समेत तर्पण र पिण्ड दिनुपर्ने कर्मकाण्डीय परम्पराले समय बढी लाग्ने गरेको पुरोहित दाहालले बताउनुभयो ।
सूचना र प्रविधिको विकासले पछिल्लो पुस्तामा संसारलाई बुझ्ने र नवीनतम विषयमा दख्खल बढाउने होड बढेसँगै कर्मकाण्ड पढ्ने र यो पेशा अँगाल्ने ब्राह्मण पातलिँदै गएको उहाँले बताउनुभयो । “अब त पुरोहित ब्राह्मण भेट्नै मुस्किल भइसक्यो नानी” उहाँले भन्नुभयो, “नयाँ पुस्ताका सबै अर्कै पेशा र क्षेत्रमा लागेका देखिन्छन्, पुराना पुस्ताका पुरोहितको शेषपछि खै के थामिएला हाम्रो चलन?”
असोज कृष्णपक्षलाई पितृपक्ष वा सोह्रश्राद्ध भनिने गरिएको छ । यस अवधिमा पितृ (दिवङ्गत आफन्त) स्वर्गबाट पृथ्वीमा ओर्लने विश्वास गरिन्छ । पृथ्वी आएका पितृले आफ्ना सन्तानले दिएको तर्पण र पिण्ड सोझै ग्रहण गर्ने विश्वासमा यस अवधिभर तर्पण र श्राद्ध गरी पिण्ड दिने परम्परा छ ।