सिन्धुली – चाडपर्व नजिकिएसँगै सिन्धुलीमा दैनिक उपभोग्य बस्तुको मुल्य बृद्धि भएको उपभोक्ताले गुनासो गरेका छन् । भान्सामा नभइ नहुने चिनी, जिरा, रहरदाल जस्ता अत्यावश्यकीय बस्तुको उपभोक्ताले बढी मूल्य तिर्नु परेको उनीहरुले गुनासो गरेका हुन् । कमलामाई नगरपालिका ४ की सविता थापा दैनिक उपभोग्य बस्तुको मुल्य बढेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “खानेपानी जारको मुल्य पनि बढेको छ । पचास रुपैयाँमा एक जार पानी आथ्यो अहिले ६५ रुपैया भन्छ । हिजो मात्रै एक जार पानीको ६५ रुपैया तिरेर ल्याएको छु ।” पसल अनुसार सामानको मुल्य पनि फरक रहेको उहाँले बताउनुभयो । “एउटै आलुको मुल्य फरकफरक हुन्छ । नयाँ आलु कतै ९० रुपैयाँ केजि कतै त्यहि आलु ८० रुपैया केजिमा विक्री गरिरहेका छन् । तेल देखि चामलको मुल्य पनि बढी लिन्छन् । दशै तिहार नजिकिएकाले मुल्य बढेको हुनसक्छ ,” उहाँले भन्नुभयो । अधिक खपत हुने चाडपर्वका बेला व्यापारीले जतिसक्दो बढी नाफा आर्जन खोज्ने प्रवृत्ति देखिन्छ । कतिपयले कृत्रिम अभाव सिर्जना गरेर पनि भाउ बढाइरहेका हुन्छन् । हाल जिल्लामा चिनि हाहाकार जस्तै देखिएको छ ।
कमलामाई नगरपालिका ७ की देवकी कार्की बजारमा चिनि नपाएको गुनासो गर्नुहुन्छ । “केहि दिन अगाडि बजारमा चिनि नै थिएन । चिनिको मुल्य बढाउन यस्तो अभाव भएको हुनसक्छ । चिनिको मुल्य पनि दिनै बढी रहेको छ ,” उहाँले भन्नुभयो । खाद्यन्नको सामानमा मुल्य बढी हुदै गएको उहाँँले बताउनुभयो ।
बजार अनुगमन निरन्तर भइरहेको सरकारी निकायले दाबी गरे पनि उपभोक्ताले बजारको अवस्था सुधार नभएको गुनासो गरेका छन् । उपभोक्ताहरुले बजारमा कालोबजारी र अनियमिता हुँदा आफूहरु ठगिँदै आएको बताएका छन् । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या रहेको स्थानीयले गुनासो गरिरहेका छन् । खाद्यान्नमा मिसावट र उपभोक्ता ठगिएको गुनासो बारम्बार आइरहेका छन् । चाडपर्वमा विशेष गरेर महँगी ह्वात्तै बढ्ने गरेको छ । जसको सिकार आम उपभोक्ता नै हुने गरेका छन् । प्रत्येक वर्ष चाडपर्वमा उपभोक्ता ठगिने र लुटिने क्रम बढ्दै जाँदा पनि प्रभावकारी अनुगमन र कारबाही नहुँदा ठगीमा सुधार आउन सकेको छैन । मिसावट गर्ने, गुणस्तरहीन बेच्नेलाई जेल सजायसम्मको कानुनी व्यवस्था भए पनि व्यवहारमा लागू हुन नसक्दा यो देखाउने दाँत मात्र भएको उपभोक्ताकर्मीको भनाइ छ ।
जिल्लामा प्रभावकारी बजार अनुगमन नहुँदा उपभोक्ता चर्को मूल्य तिर्न बाध्य छन् । नियमित अनुगमन नहुँदा व्यापारीले मनलाग्दी मूल्य असुलिरहेका छन भने मूल्यमा पनि एकरुपता छैन । बजारमा भने एउटै सामानको मूल्य पसलैपिच्छे फरक भएपछि उपभोक्ता ठगिएका छन् । व्यवसायीले अत्यावश्यक वस्तुको मूल्य मनपरी निर्धारण गर्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेको स्थानीयको गुनासो छ । अधिकांश पसलमा मूल्य सूची नहुँदा सामानको वास्तविक मूल्य थाहा पाउन नसकिएको कमलामाई नगरपालिका ७ का शिव हरि देवकोटाले बताउनुभयो । बजारमा तयारी पोसाक र कपडाको मूल्य बढेको उपभोक्ता बताउँछन् ।