सिन्धुली, – उद्योग बाणिज्य संघ सिन्धुलीले बुधबार एक समारोह बीच भरखरै सिन्धुली सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा र भवानी वक्स गणका प्रमुख सेनानी बद्रि कुँवरलाई स्वागत गरेको छ ।
प्रमुख जिल्ला अधिकारीलाई स्वागत गर्दै उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले सिन्धुलीमा उद्योग वाणिज्य संघले ब्यवसायीक हकहितका लागी गर्दै आईरहेको गतिविधीका साथै ब्यवसायीहरुले भोग्दै आएको समस्याहरुको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउनुभएको थियो । आर्थिक मन्दीका कारण ब्यवसायीहरु मारमा परिरहेको बताउँदै चाडपर्वको समयमा उपभोक्ताहरुलाई सहजताका लागी स्थानीय प्रशासनको सहयोग र समन्यव हुनुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले ब्यवसायीक व्यक्तिहरु नै राज्य संचालनको नेतृत्व स्थानमा पुग्ने गरेको स्मरण गराउँदै सवै ब्यवसायीहरुलाई नैतिक बनेर प्रचलित ऐन कानुन बमोजिम उपभोक्ताहरुको मन जित्दै आफ्ना व्यवसायहरुलाई सञ्चालन गर्न आग्रह गर्नुभयो ।
प्रजिअ शर्माले भन्नुभयो, “व्यवसायीहरुले गुणस्तर, वैधानिकता, राजश्व लगायतका विषयमा पूर्ण ख्याल गर्दै व्यवसाय सञ्चालन गर्नुहोला, कृत्रिम अभाब सिर्जना नगर्नु होला ।” उहाँले सवै खालका व्यवसायीहरुलाई जनशक्ति र साधन श्रोतको उपलब्धतालाई भरपुर परिचालन गर्दै कानुन अनुसार सहयोग र सहजीकरण आफुहरुको तर्फबाट हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो ।
प्रजिअ शर्माले चाडपर्व नजिकिदै गरेको र जिल्लामा तिनवटा राजमार्गमा सवारी चाप बढ्ने हुँदा सडक सुरक्षा, दुर्घटनाको न्यूनिकरण साथै यात्रीहरुको सुरक्षालाई प्रशासनले विशेष ध्यान दिएको बताउनुभयो ।
यात्रीहरुसँग बढिभाडा असुल्ने, अनावश्यक पार्किङ्ग शुल्क असुल्ने, क्षमता भन्दा बढि यात्री चढाउने सवारी साधनलाई कानुन अनुसार कार्वाहीको दायरामा ल्याइने तथा अन्य गैर कानुनी गतिविधीलाई कडाईका साथ स्थानीय प्रशासनको तर्फबाट नियन्त्रण गरिने समेत बताउनुभयो ।
तिनै तहका सरकारी संयन्त्रसँग सहकार्य र समन्यव गर्दै जिल्लामा शान्तिपूर्ण बातावरण कायम गर्दै कानुनको कार्यान्वयन गर्ने आफ्नो प्रमुख दायीत्व भएकाले सवै पक्षबाट तथ्यपरक सुझाब सल्लाहको अपेक्षा आफुले गरेको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो ।
स्वागत तथा अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, पुर्व पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।