सिन्धुली – चाडपर्व नजिकिएसँगै सिन्धुलीमा प्रहरीले सुरक्षा सक्रियता र निगरानी बढाएको छ । चाडपर्वको समयमा जिल्लामा सम्भावित अपराधिक गतिविधि लगाएत दुर्घटना न्यूनिकरण गर्न प्रहरीले सक्रियता बढाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेका अनुसार चाडपर्वमा हुन सक्ने सम्भावित घटनाहरूलाई ध्यान दिएर जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ गरिएको छ । चोरी डकैती , कुटपिट , जुवा तास जस्ता घटनाहरुलाई रोक्न जिल्लाका सबै प्रहरी इकाईहरुलाई निर्देशन गरेको उहाँले बताउनुभयो । “चाडपर्बमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिनका लागी जिल्लाका प्रत्येक नाकाहरुमा रहेका प्रहरी इकाईहरुलाई चुस्त बनाइएको र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ , बाहिरी जिल्लाहरुबाट सिन्धुली भित्रिने यातायातका साधनहरुमा सुरक्षा चेकजाचमा कडाइ गरिएको छ ,” उहाँले भन्नुभयो ।
जिल्लाका अधिकाश प्रहरी युनिटहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरि सम्बन्धित युनिट प्रमुखहरु लाई आ–आफ्नो इलाका भित्र शान्ति सुरक्षाको अबस्था मजबुत राख्न निर्देशन यदिइसकेको समेत उपरीक्षक काफ्लेले बताउनुभयो । विभिन्न काम काज तथा रोजगारीका लागी जिल्ला बाहिर तथा नेपाल बाहिर गएका सिन्धुलीबासी असोज सुरु भएसँगै गाउँ फर्किन थालिसकेका छन । हाल विपि राजमार्गमा सवारी चाप समेत बढेको छ । चाँडपर्व नजिकिएसँगै जिल्लामा लापसे र मापसे चेकिङ कडाइका साथ चेकजाँच भइरहेको प्रहरीले जानकारी दिएको छ । चाडपर्वमा प्रहरीले जिल्लामा लापसे र मापसे चेकजाँचमा कडाइँ गर्ने बताएको छ ।
यस्तै प्रहरीले सिन्धुली भित्रिने र बाहिरिने मुख्यमुख्य नाकाहरु, मुख्य मुख्य सडक तथा भीडभाड हुने बजार क्षेत्रहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने जनाएको छ । वैंक, वित्तीय संस्था, बिजनेस कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर्स, सुन पसल लगायतमा पनि प्रहरी परिचालन गरेर निगरानी बढाइएको एसपी काफ्लेले बताउनुभयो । यसैगरी खसी, बोका, च्याङ्ग्रा भित्रिने नाकामा पनि प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । खसीबोका लुट्ने, ब्यापारीलाई कुटपीट गर्ने, पैसा माग्नेलगायत सम्भावनालाई मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको उहाँको भनाई छ । सुरक्षा व्यवस्था चुस्त राख्नका लागि सादा पोसाक र बर्दीधारी पोसाक दुबै परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । बर्दीधारीबाट लुकीछिपी आपराधिक कार्य हुने भएकाले सादा पोषाकका प्रहरी परिचालन गरिएको उहाँको भनाई छ ।
प्रहरीले चाडपर्वमा हुनसक्ने होहल्ला, हुलहुज्जत र लफडा नियन्त्रणका लागिपनि छुट्टै फोर्स परिचालन गर्ने भएको छ । विशेष टास्क फोर्स बनाएर प्रहरी परिचालन गरिने एसपी काफ्लेले बताउनुभयो । उहाँका अनुसार मापसे र लागूऔषध नियन्त्रणलाई पनि प्रभावकारी रुपमा नियन्त्रण गर्न प्रहरी परिचालन गरिनेछ । जसका लागि नाकाहरुमा चेकिङ र सादा पोषाकका प्रहरी परिचालन गरिने उहाँले बताउनुभयो ।
प्रहरीले चाडपर्वमा घर फर्किने यात्रुहरुलाई लक्षित गरी यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएको छ । यात्रु सहायता कक्षबाट स्वास्थ्य सुरक्षा साबधानीसँगै, ठगिएका यात्रु, सामान हराएका, टिकट नपाएका, पकेट मारिएका, बढी भाडा लिएका, टिकट काटेरपनि सिट नपाएका, अलपत्र परेका यात्रुहरुलाई सहयोग गरिने उहाँले बताउनुभयो । प्रहरीले चाडपर्वमा हुने जुवातासलगायतका अवैध कार्यहरुको नियन्त्रण गर्नपनि निगरानी बढाएको छ । जुवातास खेलिरहेकालाई समातेर कार्वाही गर्ने, मुद्धा चलाउनेलगायतका कार्यहरु गरिने उहाँले बताउनुभयो ।