बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा सिसी क्यामेरा छन्, प्रयोग छैन

सोमवार , भाद्र ३१, २०८१

सिन्धुली –सिन्धुली बजारको मुख्य चोकलाई निगरानी गर्नका लागि जडान गरिएको सिसि क्यामेरामा समस्या आउँदा सुरक्षा व्यवस्थान गर्न प्रहरीलाई समस्या परेको छ । सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने शहरका मुख्य सडक र चोकहरूमा जडान गरिएका सिसी क्यामेरा चट्याङ, अनियमित विद्युत आपूर्ति र मर्मत सम्भारको अभावले प्रयोगविहीन बनेका हुन् । प्रविधिको प्रयोगले सुरक्षा अवस्था निगरानी गर्ने उद्देश्यका साथ कमलामाई नगरपालिकाको लगानीमा लाखौं खर्चिएर जडान गरिएका सिन्धुलीमाढीका सिसी क्यामेरा मध्ये र्दुइ दर्जन सिसी क्यामेरा अहिले बिग्रिएर प्रयोगविहीन अवस्थामा छन् ।

अपराध नियन्त्रण र प्रमाण सकंलनको भरपर्दो माध्यमका रुपमा प्रयोग भइरहेका सिसी क्यामेराहरू बिग्रिँदा सुरक्षा चुनौती बढ्दै गएको सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले बताउनुभयो ।उहाँले भन्नुभयो “सिसी क्यामरा हुँदा हामीलाई आपराधिक गतिविधि तथा सवारी दुर्घटना गरेर भाग्नेहरूलाई समाउन धेरै सजिलो भएको थियो । हामीले यसरी भागेकाहरूलाई सिसी क्यामेराको सहायताले नियन्त्रणमा लिन सफल भएका थुप्रै उदाहरणहरू पनि छन् । यो सँगै सिसीटिभी हुँदा कुनै पनि घटनाको अनुसन्धान,विश्लेषण गर्न सिसीटिभी रेकर्डेड छ भने धेरै कुरामा सहयोग पुग्छ । सिसीटिभीमा नहुँदा त अहिलेको प्रविधिमैत्री दुनियाँमा धेरै गाह्रो हुन्छ ।”

अहिले सिसि क्यामेराले काम नगर्दा त्यस्ता घटनामा संलग्नहरुको पहिचान गर्न गाह्रो भइरहेको उहाँको भनाई छ । चाडवाड नजिकिँदै जाँदा सुरक्षा संवेदनशिलता बढ्ने भएकाले चाडवाडअगावै ती क्यामेराहरु मर्मत गर्नुपर्ने आवश्यकता रहेको प्रहरीले बताएको छ । उहाँका अनुसार चट्याङको कारण पनि क्यामेरा विग्रेको हो । सिन्धुलीको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै जडान गरिएका सिसि क्यामेराको मर्मत सम्भारमा कसैको ध्यान नजाँदा बेवारिसे बन्दै गएका छन् ।

आइतबार कमलामाई नगरपालिका ५ की सुनिता थापाले श्रीमान हराएपछि प्रहरी कार्यालय सिसि क्यामेरा हेर्न पुग्नुभएको थियो । सिसि क्यामेराको सहयोगले श्रीमान कहाँ गएको हो भन्ने थाहा पाउने आशले प्रहरी कार्यालय पुग्नुभएको थापा सबै सिसि क्यामेरा नै बन्द देखेपछि घर फर्किनुभयो । उहाँ भन्नुहुन्छ, “घर अगाडिको सिसि क्यामेरा र बस पार्क क्षेत्रको सिसि टिभि फुटेज हेर्न पाए श्रीमान कहाँ गएको थाहा हुन्थ्यो । तर त्यस क्षेत्रको सबै क्यामेरा बन्द रहेछ । श्रीमान खोजी दिन प्रहरी कार्यालयमा निवेदन छोडेर आए ” उहाँले भन्नुभयो । थापा जस्तै कमलामाई नगरपालिका ५ कै दिपा कार्की पनि घरमा चोरी गर्ने चोरको पहिचान गर्न सिसि क्यामेरा हेर्न प्रहरी कार्यालय पुग्नुभयो । क्यामेरा विग्रिएकाले उहाँले चोरको पहिचान गर्न समस्या भएको बताउनुभयो । गत विहिबार उहाँको घरमा झ्यालबाट कसैले सामान चोर्न खोजेको थियो । रातको समयमा घरमा चोरी गर्न आउने व्यक्ति पत्ता लगाउन उहाँले सिसि टिभि फुटेज हेर्न खोज्नु भएको थियो । तर सिसि क्यामेरा नै बन्द देखेपछि उहाँ घर फर्किनुभयो ।

कमलामाई नगरपालिकाले सिन्धुलीमाढी सहित भिमान बजार लगाएत विभिन्न ठाउँमा सिसि क्यामेरा जडान गरेको छ । कमलामाई नगरपालिका वडा नम्बर ९ भिमानमा ६ वटा, वडा नम्बर ५ मा ११ वटा, वडा नम्बर ६ मा २७ वटा, त्यस्तै वडा नम्बर ४ मा १० वटा र वडा नम्बर ७ मा ४ वटा सिसि क्यामेरा जडान गरिएकोे छ । कमलामाई नगरपालिकामा अपराध रहित, शान्ति र सुव्यवस्थित बनाउन नगरको मुख्य बजार र चौकहरूमा सिसि क्यामेरा जडान गरिएको हो । नगरको सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सदुपयोग नहुँदा अपराध गतिविधि बड्ने सम्भावना समेत बढदै गएको स्थानियले बताएका छन् ।

प्रतिक्रिया