सिन्धुली – कमलामाई नगरपालिका ४ ढुंग्रेबासबाट धुराबजार जोड्ने पुल समयमा निर्माण नहुदाँ स्थानीयले सास्ती खेप्नु परेको छ । वर्षाको समयमा आवतजावत गर्न समस्या हुने गरेको छ । निर्माणधीन पुल समयमा निर्माण नहुदाँ आवतजावत गर्न समस्या भएको कमलामाई नगरपालिका ४ ढुंग्रेबासका सरोज काफ्लेले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “वर्षाको समयमा पाँच मिनेट लाग्ने बाटोलाई १ घण्टा लगाएर आवतजावत गर्नुपर्छ । पुल नहुदाँ सिन्धुलीमाढी बजार घुमेर धुराबजार पुग्नु पर्ने बाध्यता छ ।”
ढुंग्रेबासबाट धुराबजार जाने पक्की पुल निर्माण सुरु भएको झण्डै दुई बर्ष भयो । हाल सम्म पुल निर्माण सकिएको छैन । पुल निर्माण नहुदाँ घण्टौ लगाएर ढुंग्रेबास र धुराबजार वारपार गर्नु पर्ने स्थानीय रमेश न्यौपानेले गुनासो गर्नुभयो । हिउँदको बेलामा खोला घटेर आवतजावत गर्न सहज भए तापनि बर्खामा खोलामा भेल आउने हुँदा सवारीसाधन ओहोर दोहोर गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । “हिउँदमा सवारीसाधन खोलाबाटै ओहोर दोहोर गरिरहेको हुन्छ । धुराबजारबाट सिधै ढुंग्रेबास निस्कन समस्या थिएन । अहिले वर्षाको समयमा खोला बाढीले आवतजावत गर्नै समस्या छ ” उहाँले भन्नुभयो ।
हिउँदमा खोला सुककेर सहज हुने भए पनि बर्खाको समयमा बाढी आउने हुनाले ग्वाङखोला तरेर घर जानको लागि समस्या हुने गरेको कमलामाई नगरपालिका ४ राएडिका गिता ढकालले बताउनुभयो । “उहाँ दश मिनेट लाग्ने बाटो झण्डै एक घण्टा लगाएर जानुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ । पुल निर्माण भए दश मिनेट मै ढुग्रेबासबाट सिन्धुलीमाढी बजार पुगिन्थ्यो । अहिले धुराबजार र सिन्धुलीमाढी बजार घुमेर ढुग्रेबास आउनुपर्छ ।” पुल नभएको कारण स्कुल बस पनि आउन छोडेको सोहि ठाउँका सन्तोष देवकोटा गुनासो गर्नुहुन्छ । हिउँदको समयमा घर सम्मै विद्यालयको बस आउने भएपनि अहिले भने घण्टौ लगाएर विद्यार्थी हिडेर विद्यालय पुग्नु पर्ने उहाँले बताउनुभयो । “मेरो छोराछोरीलाई लिन विद्यालयको बस घर सम्मै आउँथ्यो । अहिले वर्षा लागेपछि आउनै छोड्यो । झण्डै एक घण्टा लागेर हिडेर विद्यालय जान्छन् ,” उहाँले भन्नुभयो ।
हाल वर्षाको कारण पुल निर्माणको काम रोकिएको कमलामाई नगरपालिका ४ का वडाअध्यक्ष महेन्द्र ढकालले बताउनुभयो । उहाँका अनुसार भुक्तानी नभएकाले पुल निर्माणको काम ढिला भएको हो । “भुक्तानी नभएकाले पुल निर्माणको काम रोकिएको थियो । म्याद थप गरि निर्माण कार्य भइरहेको छ । केहि महिनामै पुल निर्माण सम्पन्न हुनेछ ,” उहाँले भन्नुभयो । यहि असोज २ गतेबाट पुल निर्माणको काम पुनःसंचालन हुनेछ । पुषको पहिलो सातामा पुल निर्माण सम्पन्न भइसक्ने वडा अध्यक्ष ढकालले बताउनुभयो । साढे ८ करोड लागतमा पुल निर्माण हुनेछ । पुल निर्माण भएपछि स्थानीयलाई आवतजावत गर्न सहज हुने उहाँले बताउनुभयो ।