सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ लाई शनिवार बालमैत्री वडा घोषणा गरिएको छ । “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ ६० औँ राष्ट्रिय बालदिवसको अवसरमा शनिवार एक कार्यक्रमका बिच उक्त वडालाई नगरकै पहिलो बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यान्वयन कार्यविधि २०६८, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेको सबै तहगत खुड्कीलाहरु, सुचकहरु र मापदण्डहरु पुरा गरी बालमैत्री वडा घोषणा गरिएको वडा अध्यक्ष उज्जवल कुमार थापाले जानकारी दिनुभयो ।
बालमैत्री वडा घोषणा गर्न सहयोग गर्नु हुने सम्पुर्ण व्यक्तित्व एंव संस्थाहरुलाई धन्यवाद दिदै प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि श्याम कुमार घिमिरेले बालअधिकार प्रति सचेतना जागृत गर्ने कुरामा बालमैत्री वडा घोषणाले काम गर्ने बताउनुभयो ।
बालमैत्री स्थानीय शासन वडा घोषणा समारोहलाई सम्बोध गदैँ उहाँले समाजका लागि योग्य नागरिक बनाउन बालमैत्री शासनअन्तर्गतका सूचकहरू पालना गर्न गराउन सबैको भूमिका हुनु पर्नेमा जोड दिनुभयो । उहाँले सिन्धुली जिल्लामा कमलामाई नगरपालिका ६ नम्बर वडा बालमैत्री वडा घोषणा गर्ने छैटौँ वडा भएको बताउनु भयो । यसले जिल्लाको सबै वडालाई बालमैत्री वडा घोषणा गर्ने अभियान सहयोग पुगेको बताउनु यो । उहाँले अभिभावकहरूले आफ्नो बालबालिकालाई दिनु पर्ने सबै अधिकारहरू दिनु पर्ने र सामाजिक रुपमा सम्पूर्ण बाल अधिकार सम्बन्धी सचेतना जागृत गर्न बालमैत्री वडा घोषणाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
वडालाई सम्पूर्ण सूचक पूरा गरेपछि अनुगमन गरि जिल्ला समन्वय समितिले घोषणाका लागि अनुमति दिएपछि बालमैत्री घोषणा गर्ने प्रावधान रहेको छ । कार्यक्रमका अवसरमा जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीले वडा अध्यक्ष उज्वल थापालाई स्विकृती पत्र प्रदान गर्नु भएको थियो ।
कनपा– ६ का अध्यक्ष उज्वल थापाको अध्यक्षता भएको कार्यक्रममा कमलामाई नगरपालिका प्रमुख उपेन्द्र कुमार पोखरेलले सिंगो नगरलाई बालमैत्री नगर बनाउने गरी काम भइरहेको बताउनुभयो ।सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयाँलले बालमैत्री स्थानीय शासन कार्यान्वयन वडा घोषणा कार्यक्रममा घोषणालाई दिगो बनाउन चुनौती रहेको भन्दै सचेत गराउनुभयो ।
कार्यक्रममा कमलामाई नगरपालिका उपप्रमुख मञ्जु देवकोटासहितका जनप्रतिनिधि, सुरक्षा प्रमुखहरु, कर्मचारीहरु, विद्यार्थीहरु, शिक्षकहरु, विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरु, बालक्लबहरु लगाएतको सहभागिता रहेको थियो ।