बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा आत्महत्याका घटनामा वृद्धि

शुक्रवार , भाद्र २८, २०८१

सिन्धुली – समाज आधुनिकीकरण तर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैमा चिन्ताको विषय भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले पछिल्लो समयमा शिक्षाको विकास हुँदै गए पनि शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमीले आत्महत्याको दर बढ्दै गएको बताउनुभयो ।

प्रहरी प्रमुख काफ्लेल भन्नुभयो, “मान्छे शिक्षित छ तर मनोवैज्ञानिक रूपमा कमजोर छ, आत्मबल कमजोर छ यसले उसलाई आत्महत्यातर्फ डो¥याएको छ, यसका लागि विद्यालय तहदेखिनै मनोपरामर्श र मनोवैज्ञानिक शिक्षा दिन जरुरी छ ।”

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार तीन वर्षमा सिन्धुलीमा दुई सय सय ३९ जनाले आत्महत्या गरेका छन । तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७१ जना, आर्थिक बर्ष २०७९/८० मा ८८ जना, आर्थिक वर्ष २०८०/८१ मा ८० जनाले आत्महत्या गरेका छन । जिल्लामा आर्थिक बर्ष २०८१/८२ को साउन देखि हाल सम्म ७ जनाले आत्महत्या गरेका छन् ।

जिल्लाको स्थानीयतहगत हेर्दा तीन वर्षमा सबैभन्दा बढी आत्महत्या गर्नेमा कमलामाई नगरपालिका रहेको छ । कमलामाईमा ७४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी दुधौली नगरपालिकामा ४५जना, सुनकोशी गाउँपालिकामा २३ जना, मरिण गाउँपालिकामा १३ जना गोलन्जोर गाउँपालिकामा २१ जना ,तीनपाटन गाउँपालिकामा १५ जना, फिक्कल गाउँपालिकामा १३ जना हरिहरपुरगढी गाउँपालिकामा १७ जना र घ्याङलेख गाउँपालिकामा १३ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तीन वर्षको तथ्यांकमा उल्लेख छ ।

आत्महत्याको प्रमुख कारण बेरोजगारी, प्रेम, सामाजिकसंजालको दुरुप्रयोग, देखासिकी लगाएत रहेको जिल्ला उपरिक्षक काफ्लेले बताउनुभयो । “बढ्दै गएको शहरीकरणसँगै महत्वकांक्षा पनि थपिँदै जाने तर महत्वकांक्षा पुरा नहुने, व्यवसायमा असफता, श्रीमान÷श्रीमती विचको झगडा लगायतका कारण पनि आत्महत्याका घटना बढेका छन् ,” उहाँले भन्नुभयो ।

मानसिक तनाव, प्रेम सम्बन्ध, बहुविवाह, बढ्दो प्रविधिसँगै आएको विकृति, घरेलु हिंसा, आत्मग्लानी, गरिबीलगायत पनि आत्महत्याका लागि कारण बन्ने उपरीक्षक काफ्लेले बताउनुभयो । “प्रेममा असफलताका कारण खासगरी युवाहरूमा एक्लै वा युगल आत्महत्याका घटना पनि भइरहेका छन् । प्रेमका कारण आत्महत्या हुनुका समेत दुई छिमल छन् । पहिलो, घरमा श्रीमती या श्रीमान् हुँदाहुँदै भएका विवाहइत्तर सम्बन्ध । दोस्रो, प्रेममा परेका तर विभिन्न कारणले विवाह हुन नसकेका । जस्तै जातपात, आर्थिक हैसियत नमिल्दा प्रेममा जोडिएकाहरूको सम्बन्धले विवाहको रूप धारण गर्न सक्दैन । र, उनीहरू आफूहरूको प्रेम अस्वीकार गर्ने समाजलाई आफैँलाई समाप्त पारेर दण्डित गरिरहेका छन् ,” उहाँले भन्नुभयो ।

सिन्धुली जिल्लामा नभइ देशभर नै आत्महत्याको समस्या रहेको उहाँको भनाइ छ । साथै उहाँले आत्महत्याका घटनाहरु बढ्दै गएपछि आत्महत्या बढ्नुका कारण र न्यूनीकरण बारे सुक्ष्म अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । “जसरी आत्महत्या गर्नेहरुको संख्या बढिरहेको छ यसले समाज डरलाग्दो अवस्थामा जांदै छ भन्ने अवस्थाको चित्रण गरेको छ त्यसैले पनि बेरोजगार युवाहरुलाई रोजगार बनाउने, सचेतना बृद्धि गर्नुका साथै मनोवल बढ्ने खालका कार्यक्रममा जोड्न सके आत्महत्या न्यूनीकरण गर्न सकिन्छ ”” उहाँले भन्नुभयो । आत्महत्या गर्नेहरु धेरै युवाअवस्थाका व्यक्तिहरु रहेको काफ्ले बताउनुभयो ।

प्रतिक्रिया