सिन्धुली – चाडपर्व नजिकिँदै गर्दा सिन्धुलीमा चोरीका घटना बढ्न थालेका छन । जिल्लाको ग्रामिण क्षेत्रमा खसि, कुखुरा लगाएत घरका सामान चोरी हुने गरेको स्थानीयले गुनासो गरेका छन् । कमलामाई नगरपालिका ३ चपौलीका बुद्धिराम कार्कीको तिनदिन अगाडि खसि चोरी भयो । घर नजिकै गोठमा बाधेको खसि रातको समयमा चोरी भएको उहाँले बताउनुभयो । “गोठमा बाधेको खसि चोरी भयो । दशैँको लागि राखेको खसि कस्ले चो¥यो फेला पार्न सकिएन । प्रहरीमा निवेदन दिन पनि एउटा खसी चोरी भएको हो । के दिनु निवेदन ?” उहाँले भन्नुभयो । कार्कीको घरबाट केहि दिन अगाडि कुखुरा पनि रातको समयमा हराएको थियो । “पाँच दिन अगाडि खोरबाट कुखुरा पनि हराएको थियो । स्यालले लग्यो होला भनेर वास्ता गरिएन, अहिले खसि पनि हरायो । खसि गाउँघर कै कसैले चोरेको शंका गरेको छु ,” उहाँले भन्नुभयो ।
सोहि ठाउँका मिनबहादुर कार्कीको घरबाट पनि कुखुरा चोरी भएको उहाँले बताउनुभयो । रातको समयमा र घरमा कोही नभएको मौका छोपी दिउँसै समेत चोरी हुने गरेको उहाँ बताउनुहुन्छ । “दशैँ तिहार नजिकिदै छ । चाडपर्व नजिकिएको कारण चोरी हुन थालेको हो । हाम्रो गाउँमा एकै दिन तिन जनाको घरबाट खसि हराएको छ । कसैको खोरबाट कुखुरा हराएको छ । हामीले यस विषयमा प्रहरीमा निवेदन भने दिएका छैनौँ ।” उहाँले भन्नुभयो । गाउँमा चोरी हुने क्रम बढेपनि सर्तक हुन थालेको स्थानीय समिता बुढाथोकि बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “रातको समयमा चोरी हुनेभएकाले रात भरि जाग्रम समेत बस्ने गरेका छौँ । दिउँसो पनि घरमा ताला लगाएर मात्र बाहिर निस्कने गरेका छौँ । चोर पत्ता लगाउन हामी स्थानीय मिलेर योजना बनाइरहेका छौँ ।”
जिल्लामा हरेक वर्ष चाडपर्वको मुखमा चोरीका घटना बढ्ने गरेका छन । यो वर्ष सिन्धुलीमा चोरीका घटना न्यूनिकरण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोबिन्दराज काफ्लेले बताउनुभयो । खासगरी ग्रामिण क्षेत्रमा बढि चोरी हुने गरेको छ । चाडपर्वको समयमा चोरीलगायत अपराध बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन प्रहरी परिचालन साथै सुरक्षा योजना तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) गोबिन्दराज काफ्लेले बताउनुभयो । विशेष सुरक्षा योजना बनाउने तयारी भइरहेको उहाँ बताउनुहुन्छ । “चाडपर्वलाई सुरक्षित बनाउने गरी योजना बनाइरहेका छौँ, नजिकिँदै गरेको बडादसैँ, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवधिभर कालोबजारी बढ्न सक्ने तथा अन्य अपराध बढ्न सक्ने भएकाले न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम साथै पर्चा–पम्प्लेट बनाएर वितरण गर्ने कार्यक्रम पनि रहेको छ ,” उहाँले भन्नुभयो ।
चोरी रोक्न विशेष टिम परिचालन हुने उहाँले बताउनुभयो । “सामान्यतया दसैँको मुखमा चोरी बढ्ने गरेको छ, यो वर्ष पनि चोरीका केही घटना हुन थालेका छन् । त्यसकारण चाडपर्वलाई अपराधमुक्त बनाउने गरी काम गर्न परिपत्र गर्नेछौँ, सुरक्षा योजना पनि तयारी गरिरहेका छौँ”उहाँले भन्नुभयो । उहाँका अनुसार बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटाउने तयारी छ ।