सिन्धुली – विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा सिन्धुलीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा आत्महत्या रोकथाम तथा न्युनिकरण सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो ।
कार्यक्रममा सिन्धुली अस्पताल सिन्धुलीकी मेडिकल अधिकृत डा. अपर्ना कार्कीले आत्महत्या भनेको के हो, यसका लक्षण, यसको अवस्था, कानुनी प्रावधान, रोकथामका उपायहरु र समस्या तथा चुनौतीको बारेमा प्रस्तुतीकरण दिनु भएको थियो ।
उहाँले आत्महत्या रोकथामका लागि चेतावनीका संकेतहरूबारे सबैले जानकारी लिन आवश्यक रहेको बताउनुभयो । एक्कासि धेरै खुसी हुने वा एक्कासि धेरै दुखी हुने, आफैँलाई हानी पुर्याउने तथा जोखिमपूर्ण व्यवहार गर्ने र मृत्यु बारे कुरा गर्ने, आत्महत्या गर्ने माध्यमहरू जस्तैः विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरू खोजी गर्ने, परिवार, इष्ट मित्रहरूलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने, आत्महत्या गर्नु पूर्व आफ्ना कुरा र व्यवहारहरू मिलाउने, कसै कसैले लागूपदार्थको अत्यधिक प्रयोग गर्ने, आत्महत्या का सोच भएका व्यक्तिहरूले माथि उल्लेखित सङ्केत हरू देखाएको हुन सक्ने उहाँको भनाई छ । यदि यस्तो सोच वा सङ्केत देखा परेमा वा निराशाको भावना आएमा जुनसुकै वेलामा ११६६ मा फोन गरि आफ्ना कुरा राखेर मनोपरामर्शबाट परामर्श सेवा लिन सकिने उहाँले जानकारी दिनुभयो ।
हामी सबैले आफ्नो आफ्नो पक्षबाट सहयोग गरे मात्र आत्महत्याका घटनाहरू रोकथाम र नियन्त्रण गर्न सकिन्छ उहाँले भन्नुभयो “आत्महत्या रोकथामका लागि परिवार, छरछिमेक, समाज, साथीभाइ, कार्यस्थल, सञ्चार माध्यम, कलाकर्मी, जनप्रतिनिधि सम्पूर्णको ऐक्यबद्धता निकै जरुरी छ ।”
सिन्धुली अस्पताल, एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) की घटना व्यवस्थापक सुनिता शर्माले ओसिएमसि स्थापना भएदेखि हासम्म २ हजार १ सय ८१ जनाले सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसनर ती मध्ये ओसिएमसिमा काउन्सिलिङका लागी फलोअपमा आईरहेका सेवाग्राहीको संख्या १ हजार ४ सय १० रहेको छ । मानसिक तथा मनोसामाजिक समस्या भई उपचार पाएका तथा औषधी सेवन गरिरहेका सेवाग्राहीको संख्या १ सय ४५ जना रहेको र १ सय ४५ जना मध्ये फलोअपमा रहेको सेवाग्राहीको संख्या १ सय २३ रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुली महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी हवलदार उमा तामाङले जिल्लामा भएका आत्महत्याको तथ्याङ्क प्रस्तुत गर्नु भएको थियो । आर्थिक वर्ष ०७९/०८० मा ८८ जना र आर्थिक वर्ष ०८०/०८१ मा ८१ जनाले आत्महत्या गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा सिन्धुली जिल्ला भित्र घटित आत्महत्याको प्रभाव सम्बन्धी एक सामाजशास्त्री अध्ययनका शोधकर्ता वरुण लामिछाने आत्महत्याका कारण, समस्या र समाधानका बारेमा धारणा राख्नु भएको थियो । समयमा नै विना हिचकिचाहट मनोपरामर्शकताबाट परामर्श लिएमा आत्महत्याको घटनामा कमी आउने तर्क राख्नु भयो । यसकालागि विद्यालय तथा समुदाय स्तरमा मनोपरामर्श आवश्यक रहेकाले सरोकारवाला निकायले चासो देखाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य कार्यालय सिन्धुलीका गंगाराम कार्कीले गर्नु भएको थियो ।
तीनपाटनमा अन्तरक्रिया यसैगरी विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा सिन्धुलीको तीनपाटन गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नारा सहित तीनपाटन गाउँपालिकाको आयोजनामा तीनपाटन ११ स्थित मा.वि. लाम्पान बतासेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
मा.वि. लाम्पान बतासेका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर तामाङको अध्यक्षता तथा तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंक बहादुर नेगिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तीनपाटन गाउँपालिका ११ का वडा सदस्य जगत कुमारी सार्की, भागादसी पोख्रेल, प्रहरी, बिद्यालय ब्यवस्थापन समितिका पदाधीकारी, शिक्षक बिद्यार्थी, बाल संजाल, शिक्षक अभिभावक संघ, महिला संजाल लगायतको उपस्थितीमा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा तीनपाटन गाउँपालिकामा आत्महत्याको सवाल र रोकथामका लागि कसरी अगाडी बढ्ने भन्ने योजना बनाउने लगायतको बिषयमा छलफल गरिएको छ । तीनपाटन गाउँपालिका अन्तर्गत सामुदायिक बिद्यालयहरुको प्राथना सत्रमा सम्बोधन गर्दै आत्महत्याको बिषयमा खुलेर कुरा गर्नुपर्ने निकर्ष निकालिएको तीनपाटन गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता पोष्टराज भण्डारीले जानकारी दिनुभयो ।