सिन्धुली – सिन्धुलीमा सुँडे मोथ पुतलिको टाउको मुल्य तोकिएको छ । जुनारको राजधानी भनेर परिचय स्थापित गरेको सिन्धुलीको गोलन्जोर गाउँपालिकाले जुनारको फल चुस्ने सुँडे मोथ पुतली समातेर मार्नेलाई प्रति पुतलि दुई रुपैँया दिने भएको छ । गाउँपालिकाले जुनार जोगाइ क्षति न्यूनीकरणो लागि नयाँ विधि अपनाएको छ । पुतलीबाट क्षति हुने प्रकोपकै रूप लिएपछि भदौ १५ गते गोलन्जोर ५ खनियाखर्कमा सुँडे मोथ पुतली रोकथाम तथा नियन्त्रण सम्बन्धी कृषक र वैज्ञानिकबिच अन्तरक्रिया कार्यक्रमबाट यस्तो निष्कर्ष निकालिएको हो ।
गाउँपालिकाले सुँडे पुतली समातेर सम्बन्धित वडा कार्यालयमा बुझाएमा प्रोत्साहन रकमबापत प्रतिपुतलीको दुई रुपैयाँ प्रदान गर्ने उल्लेख गर्दै सार्वजनिक सूचना जारी गरेको छ । “सुँडे पुतली जुनार, सुन्तलाको फलमा बसेर बर्सेनि लाखौँको क्षति पु¥याउने गरेको छ । तत्कालका लागि पुतली समात्ने र मार्नेभन्दा अरु उपाय छैन । त्यसैले गाउँपालिकाले पुतली समातेर मार्नेलाई दुई रुपैया नगद प्रोत्साहनस्वरुप प्रदान गर्ने निर्णय गरेको हो,” गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताउनुभयो । सुँडे पुतली समातेर वा मारेर गोलान्जोर गाउँपालिकाको कुनैपनि वडामा बुझाए प्रति पुतली दुई रुपैँया दिने निर्णय भएको अध्यक्ष बरालले जानकारी दिनुभयो ।
सिन्धुलीमा रहेका ९ वटा स्थानीय तहहरू मध्ये सबैभन्दा धेरै जुनार खेती हुने क्षेत्रफल र कृषकको संख्या गोलन्जोर गाउँपालिकामा रहेको छ । जुनार खेतीबाट कृषकहरूलाई राम्रो आम्दानी हुने भए पनि बेलाबखत विभिन्न रोग किराले सताइरहेको छ ।
गतवर्ष जुनारमा लाग्ने सुँडे मोथ पुतलीले जुनार फलको रस चुसेर करिब डेढ – दुई करोडको क्षति भएको कृषकहरूको भनाइ उद्धृत गर्दै कृषि शाखा प्रमुख सरोज दाहालले भन्नुभयो, “यस वर्ष सुँडे मोथ पुतली अझ बढी प्रकोपको रूपमा देखिएकोले यो उपाय कार्यान्वयनमा ल्याइएकोहो । ”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले सुँडे मोथ पुतली रोकथामका लागि वैज्ञानिक तथा कृषकसँग बारम्बार अन्तरक्रिया गदैँ आएको छ । उक्त पुतली फलमा बसेपछि फलको आकार नबढ्ने, फलको बोक्रामा रस चुसेको ठाउँ खैरो, त्यसको वरिपरि पहेँलो र सुन्तले चक्का देखिने गर्दछ । चुसाहा मोथ–पुतलीले उस्पोरा थरीको ढुसी फलमा सारेर फललाई रोगी बनाउने भएकाले गुदी गल्छन् । यस्ता फलहरु रुखबाट भुइँमा झर्ने गर्दछ ।
वर्षेभरि नै फलको बगैँचामा सक्रिय रहने भए पनि सुँडे पुतलीको संख्या विशेषगरी असार, साउनदेखि कात्तिक, मंसिर यामसम्म ह्वात्तै बढ्ने स्थानीय कृषकहरुको भनाइ छ । “चुसाहा मोथ–पुतलीहरु रातको समयमा सक्रिय हुने स्वभावका कीरा हुन् । रातभरि नै यी पुतलीहरु फलफूल चहार्दै रस चुसी हिँड्छन् । रातको खास प्रहर, साँझको ७ देखि रातको ११ बजे र बिहानीको ४ देखि ६ बजेको अवधिमा बगैँचामा यस पुतलीले फलफूलको रस चुस्ने क्रिया तीव्र हुन्छ,” परियोजना कार्यन्वयन एकाइ सिन्धुलीले जनाएको छ ।