सिन्धुली – जिल्लामा विद्यालयले स्कुल बस संचालन गरेसँगै विद्यार्थीलाई विद्यालय पुग्न सहज भएको छ । भौगोलिक विकटताका कारण घण्टौ पैदल यात्रा गरेर विद्यालय पुग्ने विद्यार्थीलाई स्कुल बसले सहज बनाएको हो । बगर र जंगलको बाटो हुँदै करिब एक घण्टा हिडेर विद्यालय पुग्ने श्री कमला माध्यमिक विद्यालयमा अध्यरत कमलामाई नगरपालिका ४ की सरला तामाङ अहिले दश मिनेटमै विद्यालय पुग्ने गरेको सुुनाउनुहुन्छ । “स्कुल पुग्न झण्डै एक घण्टा लाग्थ्यो । अहिले सजिलो छ । स्कुलको बसले दश मिनेटमै स्कुल पु¥याउछ ,” उहाँले भन्नुभयो । विद्यालयले बस सञ्चालनमा ल्याएपछि विद्यालय आउने टाढाका विद्यार्थी हर्षित बनेका छन् । बस सेवा सुरु भएपछि विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढेको विद्यालयका एक शिक्षकले बताए । टाँढाका विद्यार्थीहरु सबैजना बस चढेर सहजरुपमा विद्यालय आउन थालेसँगै विद्यालयमा विद्यार्थीको उपस्थिति राम्रो भएको र विद्यार्थीको अनुहारमा उज्यालोपना देखा परेको उनले बताए । विद्यालयमा बस सेवा सञ्चालन भएसँगै विद्यार्थीहरु समयमा विद्यालयमा उपस्थित नहुने, पैसा तिरेर घरभाडामा बस्नुपर्ने, लामो समय पैदल यात्रा गर्दै विद्यालय पुग्नुपर्ने झन्झट हट्ने विद्यालयका प्रधानाध्यापक कम्लेश चौधरीले बताउनुभयो ।
विद्यालयसम्म बस सञ्चालन भएपछि घण्टौं पैदल यात्रा गर्दै विद्यालय जानुपर्ने कष्टकर अवस्थाबाट मुक्त भएको मरिण गाउँपालिका ७ का उमेश लामाले बताउनुभयो । बस सञ्चालन नहुँदा बिहान ७ बजेदेखि नै विद्यालय जान तयार हुनुपर्ने भए पनि अहिले त्यो अवस्था नरहेको उहाँले बताउनुभयो । समयमै बसले विद्यालयदेखि घरसम्मै ल्याउने पु¥याउने गर्दा अहिले धेरै सजिलो भएको भन्दै उहाँले खुसि व्यक्त गर्नुभयो । सुरक्षित तरिकाले घरबाट विद्यालयसम्म पुग्न र विद्यालयबाट घर फर्किन सहज भएको उहाँले बताउनुभयो ।
मरिण गाउँपालिका १ का अजय वाइबा पनि विद्यालयले स्कुल बस संचालनमा ल्याएपछि विद्यालय पुग्न सजिलो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले दुइ घण्टा लाग्थ्यो स्कुल पुग्न, कहिले स्कुल समयमा पुगिन्नथियो । अहिले सजिलो भएको छ । आधि घण्टा मै विद्यालय पुगिन्छ । समयमा विद्यालय पुग्छु ।”
बागमती प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन बस खरिदमा अनुदान दिँदै आएको छ । सामुदायिक विद्यालयमा माथिल्लो कक्षा चढ्दै जाँदा विद्यार्थी भर्ना दरसँगै विद्यार्थी टिकाउ दर घट्दै गएपछि विद्यार्थीलाई आउजाउमा सहज बनाउन र विद्यार्थी टिकाउन प्रदेश सरकारले विद्यालय बसमा अनुदानको नीति लिएको हो । मन्त्रालयले प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान दिने छ । निर्देशनालयसँग बस खरिद सम्झौतासँगै अनुदानको ६० प्रतिशत भुक्तानी दिने र बाँकी ४० प्रतिशत बस आयातको अनुज्ञापत्र प्राप्त भएपछि दिने व्यवस्था रहेको छ ।