सिन्धुली– सिन्धुलीमा शुक्रबार फरक फरक सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाईते भएका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिका २ रतनपुरमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षिय युवाको मृत्यु भएको छ । मदनभण्डारी राजमार्गमा मकवानपुरबाट सिन्धुली तर्फ आउदै गरेकोे बा.प्र.०३–००५ प ९८६ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुरको बाग्मती गाउँपालिका ४ का प्रविन बजुको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । मकवानपुरको बाग्मती गाउँपालिका ५ का २१ वर्षिय भेष बहादुर गोलेले चलाएका मोटरसाइकलमा सवार बजुको उपचारका क्रममा मृत्यु भएको हो भने गम्भिर घाईते भएका गोलेको उपचार भइरहेको छ ।
त्यसैगरि, सिन्धुलीको मरिण गाउँपालिका ६ स्थित हस्पिटलचोकमा स्कुटी दुर्घटना हुँदा एकजना महिला गम्भिर घाईते भएकि छिन् । मदनभण्डारी राजमार्गमा छाँपचोकबाट सिन्धुली तर्फ आउदैँ गरेको प्र.२–०३–१३प ६५५९ नम्बरको स्कुटर आँफै अनियन्त्रित भई दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सिन्धुलीको कमलामाई न.पा.६ कि २१ वर्षिय स्कुटर चालक सिम्रन सुनदास गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै, सोहि स्कुटरमा सवार मरिण गाउँपालिका ६ कि १८ वर्षिय अबिना लाखे भने सामान्य घाईते भएकि छिन् ।