सिन्धुली – सिन्धुली प्रहरीले गाँजा खेति नष्ट गर्ने अभियान चलाएको छ । व्यवसायीक रुपमा खेती हुँदै आएको गाँजा जिल्ला प्रहरी कार्यालयको सक्रियतामा फडानी भएको हो । जिल्ला प्रहरीले यो वर्ष गाँजाको व्याड, वेर्ना नै नष्ट गरेको छ । अघिल्ला वर्षहरुमा गाँजाको फल लाग्ने बेलामा नष्ट गर्ने प्रहरीले यस वर्ष व्याड, वेर्ना मै नष्ट गरेको हो ।
मंगलबार प्रहरीले हरिहरपुरगढी गाउँपालिका ८ ढाँडखोलामा गाँजाको व्याड र वेर्ना नष्ट गरेको छ । १ कठ्ठा जग्गामा लगाएको गाँजाको व्याड र बेर्ना प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख तथा उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार प्रहरी चौकि क्यानेश्वरबाट खटिएको प्रहरी गस्ति टोलीले ढाँडखोला आसपासका स्थाहरुमा एक कठ्ठा क्षेत्रफलमा लगाईएको गाँजाको व्याड र वेर्ना फेला पारी नष्ट गरेको हो ।
यसअघि जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७ मा अवस्थित क्यानेश्वर, वन्चरेडाँडा, हर्लाबर्ला लगायतका विभिन्न स्थानहरुमा लगाइएको गाँजाको व्याड, वेर्ना नष्ट गरिएको उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।
उहाँकाअनुसार गत साउन ३२ गते यता मात्रै (१८ दिनको अवधिमा) हरिहरपुरढीको १६ कठ्ठा १० धुरमा लगाइएको गाँजाकोव्याड, वेर्ना प्रहरीले नष्ट गरेको छ । गाँजाको व्याड र वेर्ना नष्ट गर्ने अभियान थालेको सिन्धुली प्रहरीले आइतवारपाँच कठ्ठामा लगाइएको व्याड, वेर्ना नष्ट गरेको उहाँले बताउनुभयो । हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ४, ६, ७ र ८ मा धेरैजसो गाँजा खेती हुने गरेको छ । यहाँ जंगलको बीचमा वन फँडानी गरेरसमेत गाँजा खेती गरेको भेटिएको छ ।
गाँजालाई सरकारले लागुऔषधको सूचीमा राखेको छ । प्रतिबन्धित लागुऔषधको सूचीमा रहेको गाँजाको उत्पादन, ओसारपसार तथा व्यापार गर्नु गैरकानूनी ठहरिन्छ । प्रहरीले वर्षैपिच्छे गाँजा फँडानी गर्दैआएको छ ।
प्रहरीका अनुसार अबैध गाँजा खेति गर्ने भने कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । यस्ता स्थानमा स्थानीयको जग्गा भाडामा लिएर भारतीय व्यवसायीहरुले अबैधरुपमा गाँजा खेति गर्दै आएको पाइएको छ । यस अघि पनि सिन्धुली प्रहरीले ठुलो परिमाणमा अबैध गाँजा नियन्त्रण तथा नष्ट गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले विभिन्न स्थानमा ठुलो क्षेत्रफलमा लगाइएको गाजा खेती नष्ट गरेको छ । मरिण गाँउपालिका र हरिरपुरगढी गाँउपालिकाका विभिन्न वडामा व्यवसायिक रुपमा खेती गरिएको गाँजा प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाँजा फडानी गरे पनि प्रहरीले खेती गर्ने किसान पत्ता लगाउन नसकिएको जनाएका छन । जिल्लामा लगाइएको सयौं बिघा गाँजा खेती फडानी गरेपनि खेति गर्ने किसान भने पक्राउ परेका छैनन् । उपरीक्षक काफ्लेले स्थानीय तहको असहयोगको कारण गाँजा खेती लगाउने जग्गा धनीको पहिचानमा समस्या भइरहेको बताउनुभयो । खेती गर्नेको पहिचान नहुँदा कारबाही गर्न सकस भएको उहाँको भनाइ छ । प्रहरीले गाँजाका बोट ढालेर परिणामसहित गाँजा खेती फडानी गरिएको सार्वजनिक गर्दै आएपनि संलग्न पक्राउ परेको कतै पाइदैन । प्रत्येक वर्ष प्रहरीले गाँजा फडानी अभियान चलाउँछ । यति बिघामा लगाइएका यति सय÷हजार बोट गाँजा फडानी गरिएको जनाउँछन् । तर कसले लगाएको गाँजा खेती नष्ट गरियो भन्ने जानकारी गुपचुप राखिन्छ ।
ठूलो परिमाणमा गाँजा खेती फँडानी गरिए पनि यसमा संलग्न व्यक्ति भने एक जना पनि पक्राउ नपर्नुले शंकास्पद ठान्छन्, स्थानीयहरू । गाँजालाई सरकारले लागुऔषधको सूचीमा राखेको छ । प्रतिबन्धित लागुऔषधको सूचीकोे गाँजाको उत्पादन, ओसारपसार तथा व्यापार गर्नु गैरकानूनी ठहरिन्छ । प्रहरीले वर्षैपिच्छे गाँजा फँडानी गर्छन् । तर त्यसमा संलग्न व्यक्ति पक्राउ गर्दैनन् । गाँजा खेती लगाइरहने र प्रहरीले फँडानी गरिरहने अवस्था बिडम्बनापूर्ण भएको सिन्धुुलीमाढीका सन्तोष न्यौपानेले बताउनुभयो । व्यक्तिगत लाभ लिएर गाँजा खेती गर्ने व्यक्तिलाई जोगाउने प्रवृतिमाथि लगाम नलाग्दासम्म चोर पुलीस सदाबहार खेल चलिरहने उहाँले बताउनुभयो । जिल्लाको मरिण र हरिहरपुरगढी गाउँपालिका क्षेत्र गाँजा खेतीका लागि उर्वर मानिन्छ ।