बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

रित्तिँदै सिन्धुलीका गाउँ : मलामीको समेत खडेरी

मंगलवार , भाद्र १८, २०८१

सिन्धुली – बिस्तारै गाउँ रित्तिँदै गएपछि मलामी पाउन पनि मुस्किल पर्न थालेको छ । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुँदा मलामीको अभावमा केही समय शव उठाउन पनि समस्या भयो । गाउँभरि हारगुहार गरी एक महिला र तीन पुरुष जम्मा भएपछि उहाँको शव उठेको हो ।

सिन्धुलीको तीनपाटन गाउँपालिका–७ मा आइतबार कृष्णमाया पहाडीको मृत्यु हुदाँ शब उठाउने कोहि थिएनन् । मलामी जान १० जना बढी छिमेकी उपस्थिति भएपनि जनजाति र दलितले शव छुन नहुने भन्दै पन्छिएका थिए । क्षेत्री–ब्राह्मणको शव जनजाति र दलित समुदायले छुन नहुने चलन रहेकाले शब उठाउन समस्या भएको वडाध्यक्ष युवराज पहाडीले बताउनुभयो । “मलामी जानका लागि १०–१२ जना छिमेकि आएपनि शब छुन नहुने भन्दै पन्छिए । सबैलाई हारगुहार गरे तर शव उठाउने कोहि भएनन् ,” उहाँले भन्नुभयो । मलामीको अभावमा केही समय शव उठाउन समस्या भएको उहाँले बताउनुभयो । अन्यतमा एक महिला र तीन पुरुष जम्मा भएपछि पहाडीको शव उठेको हो ।

तोस्रामखोलाकि कृष्णा पहाडीको ६५ वर्षको उमेरमा आइतबार बिहान साँढे ७ बजे निधन भएको थियो । मृगौला र फोक्सोको बिरामीका कारण लामो समयदेखि थलिएको उहँको स्वास्थ्य अवस्था केहिदिन देखि थप जटिल बनेको थियो । श्रीमान् नभएकी कृष्णाको छोरा राजु पहाडी काठमाडौं बस्नुहुन्थ्यो । आमाको स्वास्थ्य गंभिर भएपछि छिमेकीले छोरालाई घर आउन खबर गरेपछि ३ दिन अघि छोरा घर आइपुग्नुभएको थियो । मृतक पहाडीको अन्तिम संस्कार गर्न घाट जाने मान्छे भएनन् । स्थानीय दलित र मगर जनजातिले मलामी जाने तर शव नबोक्ने बताएका थिए । तोस्रामबाट अन्तिम दाहसंस्कार गर्ने घाट बसुखोला पुग्न हिंडेर कम्तिमा डेढ घण्टा लाग्छ । “छोरा राजु,म, मेरो भाइ तोयनाथ र एकजना छिमेकी मनमाया अधिकारी दिदी मात्रै भयौँ” वडा अध्यक्ष पहाडीले भन्नुभयो, “ हामी जम्मा ४ जनाले मात्रै शव घाटमा पु¥याउन सकिने अवस्था थिएन । मैले सबै कुराको जिम्मा लिन्छु शव बोकौँ भने तर कसैले मानेनन् । पुरानो संस्कार भन्दै बरु मलामी जाने शव नबोक्ने अडान पछि हामी ४ जना शव बोकेर घाट लाग्यौं ।”

वडाध्यक्ष पहाडी पनि सोही गाउँका हुनुहुन्छ । मृतक कृष्णमायाका एक छोरा र दुई छोरी छन् । “घाट टाढा छ, गाउँमा शव उठाउने पनि मान्छे भएनन्,” वडाध्यक्ष पहाडीले भन्नुभयो, “यस्तो अवस्था देख्दा दुःख लाग्छ, अब हामी मरे पनि घाटसम्म लगिदिने मानिस कोही नहुने भए ।”

वडाअध्यक्ष पहाडीका अनुसार गाउँलेहरु ट्याक्टरमा दाउरा बोकेर त आए तर शव बोकेनन् । डेढ घण्टाको बाटो आमाको दाहसंस्कारका लागि छोरा राजु, छिमेकी युवराज र उहाँका भाइ तोय अनि छिमेकी मनमाया घाट पुगेका थिए । घरबाट निस्कने बेला छोरा राजु र वडाअध्यक्षले शव काँध हाल्नुभयो । मनमायाले मृतकको कपडा बोक्नु भएको थियो । लामो बाटो र कठिन यात्राका बाबजुत राजु, युवराज र तोयनाथ थाकेपछि मनमायाले शव काँध हाल्ने प्रस्ताव गर्नुभयो । युवराज, तोय र छोरा राजुले नाई भन्नुभएन् । एक महिला र तीन पुरुष भएर घाट पुगेर दाहसंस्कार गर्नुभयो । गाउँबाट घाट टाढा भएकाले त्यहाँसम्म शव पुर्‍याउन पालैपालो ‘काँध फेर्ने’ चलन छ । स्थानीयका अनुसार शव उठाइसकेपछि घाटसम्म नपु¥याइन्जेल बीच बाटोमा राख्न र बिसाउन नमिल्ने मान्यता रहँदै आएको यहाँका वृद्धहरू बताउँछन् ।

केही वर्षअघिसम्म भने गाउँमा कसैको मृत्यु हुँदा ५० जना मलामी नघट्ने गरेको वडाध्यक्ष पहाडीले बताउनुभयो । सिंगो वडामा चार सयभन्दा बढी घरधुरी छन् । गाउँमा ७० घरभन्दा बढीको बसोबास छ । त्यीमध्ये क्षत्री–ब्राह्मणका ८ घर रहेका छन् । ती ८ घरका पुरुष कोही विदेश छन् भने केही राजधानीतिर अध्ययन र रोजगारीमा रहेका छन् । क्षेत्री–ब्राह्मणको शव जनजाति र दलित समुदायले छुन नहुन चलन रहेकाले पनि समस्या भएको वडाध्यक्ष पहाडीले बताउनुभयो । “एक त गाउँ रित्तिँदै छ,” उहाँले भन्नुभयो, “त्यसमाथि यस्ता रुढीवादी संस्कारले झन् ठूलो समस्या ल्याएको छ ।”

स्थानीय काशीराज दाहालका अनुसार पहिला गाउँमा जुनसुकै जातका पनि टन्न मानिस हुन्थे । अर्मपर्म र मृत्यु संस्कारमा छिमेकी गाउँबाट समेत मानिसहरू जम्मा हुन्थे । “अहिले बिस्तारै गाउँ रित्तिँदै छ,” उहाँले भन्नुभयो, “अहिले आएर शवलाई काँध दिने आफन्त तथा छिमेकीसमेत पाउन मुस्किल भयो ।”

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर आफूले जान्दासमेत अहिलेसम्म यस्तो नभएको बताउनुभयो । गाउँ रित्तिँदै गएको कुराले आफू झस्किएको उहाँको भनाइ छ । “आफ्नो जातबाहेक अन्यले शव छुन नहुने पुरानो परम्परालाई परिमार्जन गर्ने बेला आएको छ,’ उहाँले भन्नुभयो, “आवश्यकतासँगै अब धेरै कुरा परिवर्तन गर्दै लैजानु जरुरी छ ।”

प्रतिक्रिया