बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा पाँच घर पहिरोको जोखिममा

सोमवार , भाद्र १७, २०८१

सिन्धुली– सिन्धुलीमा पाँच घर पहिरोको जोखिममा परेका छन् । कमलामाई नगरपालिका १ स्वाँरामा पाँच घर पहिरोको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो । उहाँका अनुसार अविरल वर्षाको कारण कमलामाई नगरपालिका १ स्वाँरामा मदनभण्डारी राजमार्ग सडक छेउ भासिएको छ । हाल राजमार्ग एकतर्फी संचालनमा छन् । मार्गको छेउको सडक २ फिट तल भासिंदा २० मिटर लम्बाई सडक चिरा परेको उहाँले बताउनुभयो । सो चिरा परेको सडक मुनी रहेको ५ घर धुरी समेत जोखिममा छन् । कमलामाई नगरपालिका १ स्वाँराका भुवन ध्वज खड्काको एक तले फक्कि घर पहिरोको जोखिममा छ । यस्तै, सोहि ठाउँको दुध राज खड्काको ढुङा माटोले बनेको दुई तले कच्ची घर, हेम बहादुर खड्काको ढुङा माटोले बनेको दुई तले कच्ची घर, कृष्ण प्रसाद कोईरालाको ढुङा माटोले बनेको दुई तले कच्ची घर र केदार प्रसाद काफ्लेको ढुङा माटोले बनेको २ दुई तले कच्ची घर पहिरोको जोखिममा रहेको उपरीक्षक काफ्लेले बताउनुभयो ।

सडक भारिएको साथै घरहरु जोखिममा रहेको खबर प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षक धर्मराज खत्री र प्रहरी चौकी डांडिगुरांसेबाट प्रहरी सहायक निरिक्षकको टोली सहित कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेल घटनास्थल पुग्नुभएको थियो । भासिएको सडक र घरहरूको अनुगमन गरिएको छ । सम्बन्धीत निकायसँग समन्वय गरेर जोखिममा रहेका घरपरिवारलाई स्थानान्तरण गर्ने तयारी भएको उपरीक्षक काफ्लेले बताउनुभयो ।

पहिरोबाट सबैलाई सुरक्षित राख्ने गरी आवश्यक तयारी थालिएको मेयर पोखरेलले बताउनुभयो । उहाँका अनुसार जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित ठाउँमा सर्न भनिएको छ । उहाँले भन्नुभयो, “निरन्तर पानी परिरहेको छ, घर माथिको सडक चिराचिरा परेको छ । घरहरु पहिरोको उच्च जोखिममा देखिन्छ । सबैलाई पहिरोबाट सुरक्षित राख्न आवश्यक पूर्वतयारी थालेका छौं ।” पहिराको उच्च जोखिममा रहेको घरपरिवारका बासिन्दालाई सचेत रहन र सुरक्षित स्थानमा बस्नलाई उहाँले आग्रह समेत गर्नुभयो । वर्षाले जमिन भासिँदै गएपछि घरको भित्रि भागमा चिरा परेको छ । घरको जगसमेत तलतल सर्दै गएको छ । घरमाथिबाट चिरा परेपछि बास बस्न स्थानीय डराउने गरेको स्थानिय रमिता खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “पहिरोको जोखिम बढेपछि बास बस्न खतरा छ, घरभित्र पसे अत्यास लाग्ने अवस्था छ । राति बास बस्न छिमेकीको घरमा जानुपर्ने बाध्यता छ ।’ पहिरोको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर आफन्तकहाँ बास बस्न जाने गरेका उहाँको भनाइ छ ।

पहिरोको जोखिम रहेकाले सो स्थानका स्थानियलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने पर्ने स्थानिय शिव कार्किले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय सबैतिर सडक निर्माण गर्दा भूगोल खुकुलिएको छ ।

प्रतिक्रिया