बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

सिन्धुलीमा हराउँदै ढिकी–जाँतो प्रचलन

शनिवार , भाद्र १५, २०८१

सिन्धुली –सुनकोशी गाउँपालिका–३ का ७२ वर्षीय छन्दमायाँ थापाले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिँधेरै जीवन बिताउनुभयो । ढिकीमा कुटेको धानको चामल, जाँतोमा पिसिएको मकै, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोलगायत खानेकुरा ढिकी–जाँतोमा कुट्ने र पिस्ने गरेर परिवारलाई खुवाएर जीवन धान्दै आउनुभयो । उहाँलाई नै यतिबेला विगतमा ढिकी जाँतोमा संघर्ष गरिएका ती दिन कथाजस्तै लाग्ने गरेको छ । ऊ बेला गाउँमा ढिकीजाँतो नभएको कुनै घर हुँदैन थियो । तर त्यस बेला ठूलो महत्व रहेको ढिकीजाँतो केही वर्षदेखि हराउन थालेपछि गाउँघरका वृद्धवृद्धालाई ढिकीजाँतो कुनै बेलाको कथाजस्तै हुने थालेको छ ।

कमलामाई नगरपालिका १२ का ८१ वर्षिय सन्तकुमारी कार्कीले पनि आफ्नो जीवनको धेरै वर्ष ढिकी कुटेर र जाँतो पिसेर जीवन बिताउनुभयो । उहाँलाई नै यतिबेला विगतमा ढिकीजाँतोमा संघर्ष गरिएका ती दिन कथाजस्तै लाग्न थालेको छ । अहिले सिन्धुलीका ग्रामिण ठाउँमा पनि ढिकी जाँतो देख्नै नपाइने अवस्था आएको छ । केहि वर्ष अगाडि ग्रामिण भेगका सबैको घरघरमा ढिकिजाँतो भएपनि अहिले कतै पनि ढिकीजाँतो छैन । ढिकीजाँतो भएका घरमा पनि कमै प्रयोग गर्ने गरेका छन् ।

त्यस्तै, तिनपाटन गाउँपालिका–११ लाम्पान्टारमा विगतमा घरैपिच्छे ढिकीजाँतो राखेर प्रयोग गर्दै आए पनि अहिले एउटा मात्र ढिकी रहेको स्थानीय सुरेश लामाले बताउनुभयो । करिब १०–१२ वर्ष गाउँमा बिजुलीबाट चल्ने मिल आएसँगै ढिकीजाँतो हराउँदै गएको उहाँको भनाइ छ । यसरी परम्परागत ढिकीजाँतो लोप भए पनि यसको संरक्षण गर्न नसकिने अवस्थामा रहेको लामाले बताउनुभयो ।

मरिण गाउँपालिका वडा नं १ का रमिते तामाङले १० वर्षअघिसम्म गाउँका प्रायः सबै घरमा ढिकी जातो राखेर प्रयोग गर्दै आए पनि अहिले एक–दुई जनाको घरमा मात्र रहेको बताउनुभयो । सो ठाउँमा करिब १० वर्षअघिसम्म प्रत्येक घरमा ढिकी र जाँतो थियो । विद्युतीय मेसिन आएसँगै विस्तारै घट्दै जाने क्रममा छ वर्षअघिबाट गाउँमा पाँच जनाको घरमा मात्रै ढिकी–जाँतो रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा धान कुट्ने मेसिन आयो, सबै खुसी बन्न थाले । ढिकी र जाँतोमा धान, मकै कुट्न तथा पिन्नेलाई समय लाग्ने साथै दुःखसमेत धेरै गर्नुपर्ने भएकाले गाउँलेले यस्ता परम्परागत सामग्रीको प्रयोग गर्न छाडेको उहाँको भनाइ छ । विद्युतीय मिलमा एक मुरी धान कुट्नलाई करिब आधा घण्टा लाग्छ तर ढिकीमा बिहानभरिमा पनि त्यसको आधा पनि कुटी नसकिने यहाँका स्थानीयको भनाइ छ ।

प्रतिक्रिया