बुधवार, कार्तिक २५ गते २०८३

Wednesday 11th November 2026

गोलन्जोर गाउँपालिका एक वर्षदेखि निमित्त प्रमुखको भरमा

शुक्रवार , भाद्र १४, २०८१

सिन्धुली – गोलन्जोर गाउँपालिकाको कार्यालय विगत एक वर्ष देखि निमित्त प्रशासकीय प्रमुखको भरमा चलिरहेको छ । गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत सम्भु पौडेलको सरुवापछि गाउँपालिकाको कार्यालय निमित्तको भरमा चलिरहेको हो । २०८० भदौ १२ गतेदेखि गाउँपालिकाको कार्यालय निमित्तको भरमा चलिरहेको छ ।

निमित्त प्रमुख प्रशासकियको रुपमा स्वास्थ्य समुहका अधिकृत छैठौँतहका दिपेन्द्र पैकराले २०८० भदौ १२ गते देखि पुष ६ गते सम्म प्रशासनिक कामकाज चलाउनुभएको थियो । उहाँको सरुवा पछि पुष ६ गते देखि २०८१ भदौ ५ गते सम्म शिक्षा समुहका अधिकृत सातौँ तहका ठाकुर प्रसाद दाहालले निमित्त प्रमुख प्रशासकिय भएर कामकाज चलाउनुभएको थियो । हाल दाहालको सरुवा भएसँगै निमित्त प्रमुख प्रशासकियको रुपमा कृषि शाखाका प्रमुख सातौँ तहका चन्दकान्त चौधरीले प्रशासनिक कामकाज चलाइरहेको गाउँपालिकाले जानकारी दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरवन्दी तेरिज अनुसार गोजन्जोर गाउँपालिकामा राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) १० औं तहको कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था रहेको छ ।

जनप्रतिनिधिहरूले आफूअनुकूल कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाई राजनीतिक स्वार्थ पूरा गरेको शिक्षक बद्रिनाथ देवकोटाले बताउनुभयो । “पहिले यस पालिकाले संघीय सरकारले पठाएका प्रमुखलाई हाजिर गर्नै दिएनन्, आफ्नो स्वार्थ पूरा नहुने भएपछि आफू नजिकका र आफ्नो पार्टी नजिककालाई निमित्तको जिम्मेवारी दिएका छन् । यसले स्थानीय तहमा आर्थिक अराजकता देखिएको छ, सबैखाले विकास निर्माणमा जनप्रतिनिधिको हालीमुहाली चलिरहेको छ ,” उहाँले भन्नुभयो । लामो समयसम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा सोचजस्तो सेवा प्रवाह नहुने गरेको उहाँले बताउनुभयो । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा कार्यालय सञ्चालन हुँदा स्थानीय सरकारले प्रदान गर्ने सेवा, सुविधा तथा गुणस्तरमा समेत प्रभाव परिरहेको देवकोटाले बताउनुभयो । विषयगत शाखा प्रमुखले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्दा सम्बन्धित शाखाको काम भ्याइनभ्याइ हुने गरेको र गुणस्तरहीन भइरहेको स्थानीयको गुनासो छ । स्थानीय तहको कामलाई प्रभावकारी बनाउन समयमै प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुनुपर्ने भए पनि लामो समयसम्म पदपूर्ति नहुँदा बेथिति मौलाउने खतरा रहेको पनि स्थानीय बताउँछन । जनप्रतिनिधिको दबाबमा काम गर्नुपर्दा कुनै समय असहज परिस्थितिको सामना गर्नुपर्ने अवस्था रहेको पनि केही कर्मचारीको भनाइ छ ।

जनप्रतिनिधिले भने संघीय सरकारले कर्मचारी नपठाउँदा समस्या भएको दाबी गरेका छन् । एक वर्ष अगाडि कार्यरत प्रमुख सम्भु पौडेलको सरुवा भएपछि उहाँको ठाउँमा कोही नपठाउदा निमित्तको भरमा पालिका चलाउनुपरेको गाउँपालिकाका अध्यक्ष शंकर बरालले बताउनुभयो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पटकपटक आग्रह गर्दा पनि कार्यालय प्रमुख नपठाइदिएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, नीतिगत निर्णय तथा अन्य दैनिक प्रशासनिक कामकाजहरूमा समस्या भएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत माग गरी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुगे पनि अहिलेसम्म कसैलाई नपठाएको उहाँले गुनासो गर्नुभयो ।

यसैगरी सदरमुकामको कमलामाई नगरपालिकाको कार्यालय पनि दुई हप्ता देखि प्रमुख प्रशासकिय विहिन छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन कुमार कार्की सरुवा भएसँगै दुई हप्ता देखि कार्यालय प्रशासकिय अधिकृत विहिन भएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा ‘कानून अनुसार प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति नभएसम्मको लागि नेपाल सरकारले निजामति सेवाको कुनै अधिकृत कर्मचारीलाई प्रमुख प्रशाकसीय अधिकृतको रुपमा काम गर्न खटाउनेछ’ भन्ने व्यवस्था छ ।

प्रतिक्रिया