सिन्धुली – सिन्धुलीमा तीजको रौनक सुरु भएको छ । जिल्लाको ग्रामिण देखि बजार क्षेत्रमा तीजको दर खाने कार्यक्रमको आयोजना भइरहेको छ । महिला समूह साथै विभिन्न संघसंस्था तीजको शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रममा व्यस्त देखिन्छ । दर खाने कार्यक्रमका लागि जिल्लाका होटल तथा रिसोट रिर्जभ भएका छन् । महिला दिदिबहिनीको समूह मिलेर होटल, रिर्सोट र पार्टिप्यालेसमा दर खाने कार्यक्रम गरिरहेका छन् । शनिबारका लागि सिन्धुलीमाढीका अधिकासं पार्टिप्यालेस बुकिङ्ग भएको होटल व्यवसायी सन्तोष थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका ठुला होटल, रिर्सोट र पार्टिप्यालेसमा यति बेला महिलादिदी बहिनीको समूह देखिन्छ । समूहमा मिलेर दर खाने र तिजको गितमा महिला नाच्ने गर्दछन् ।”
तीज आउन एक हप्ता बाँकी नै छँदा जिल्लाको मुख्य बजार सिन्धुलीमाढी, दुधौली बजार, चकमके बजार लगायतमा महिलाको चहलपहल बढ्न थालेको छ । गहना सारी र कुर्ता पसलमा भीड लाग्ने थालेको छ । तीजले गर्दा नयाँ डिजाइनका कुर्ता र सारीको व्यापार बढेको सिन्धुलीमाढीका दिक्क्षा कपडा पसलका संचालक दिक्क्षा थापाले बताउनुभयो । “यसपालिको तीजमा रातो र हरियो मिसिएको कपडाको व्यापार दुई गुना बढेको छ,” उहाँले भन्नुभयो । तीजको अवरमा सिन्धुलीमाढीमा तिज कूइन प्रतियोगिता भइरहेको छ ।
केही वर्ष अघिसम्म महिलाहरूको महान् पर्व तीज बढीमा तीन दिन मनाइन्थ्यो, तर केही वर्षयताका तीजका लागि महिना दिनअघिदेखि नै रमझम र भोज सुरु भएको छ । सिन्धुलीमाढीका होटल र पार्टी प्यालेसहरू बुकिङ हुन थालेका छन् ।
यस वर्ष तीज भदौ २१ गते परेको छ । तर उक्त एक दिनमा सबैले सबैलाई बोलाउन र दर खान जान नभ्याउने भएको भन्दै गृहिणीहरूले एक अर्कोलाई निम्तो दिन थालेका हुन् । घरमा बोलाएका आफन्तलाई चुरा, पोते टीकाजस्ता सौभाग्य उपहार दिने चलनले खर्च बढ्दै गएको शिक्षक सरिता कार्कीले बताउनुभयो । सहरी वातावरणमा हुर्कंदै गएको गहना र सारीको फेसन र प्रतिस्पर्धाले तीज महँगो बन्दै गएको उहाँको अनुभव छ । उहाँका पालामा १०० रुपैयाँमा हातभरि चुरा लगाउन पाइन्थ्यो रे । “तर अहिले एउटा बालालाई दुइ सय देखि तीन सय रुपैयाँ पर्न थाल्यो,” उहाँले भन्नुभयो, “त्यतिबेला माइत गएर दर खाने र परिवारकै सदस्यसंग नाजगान गरेर व्रत बस्ने चलन थियो । अहिलेको तीज गहना र सारीको फेशन जस्तै भएको छ ।” धेरैतिरबाट दर खाने निम्ता आइसके पनि कतै नगएको उहाँ बताउनुहुन्छ । “नन्द, आमाजू, छोराछोरी सबैलाई बोलाएर घरैमा रमाइलो गर्ने गरेको छु ।” जिल्लामा १०÷१२ वर्ष यतामात्र एक महिना अघिदेखि तीजको दर खाने चलन भित्रिएको उहाँको अनुभव छ ।
पार्वतीले भगवान शिवजी स्वामी पाऊँ भनी भाद्रशुक्लपक्षको त्रियोदशीका दिन कठोर व्रत बसी भगवान शिवजी स्वामी प्राप्त गरेको विश्वास मानि नेपाली हिन्दु विवाहिता नारीहरुले आफ्नो पतिको दीर्घायुको कामना, परिवारको राम्रो र प्रगतिको कामनाका लागि र अविवाहिताले सुयोग्य पति प्राप्तिको कामनाका लागि तीजमा बर्त बस्ने गर्दछन् । तिजको अघिल्लो दिन राति दर खाने चलन रहि आएको छ । तिजको दर खाने दिन हिन्दु महिलाहरुको (विशेष गरी यो चाड मनाउने समुदायका) विशेष महत्वको दिन हो । तीजको व्रत बस्ने नारीहरूले दर पकाउने चलन हुन्छ । आफ्नो क्षमता अनुसार मिठा–मिठा परिकार पकाउने रातिसम्म बस्ने नाचगान गर्ने, दुख सुखका कुराहरु साटासाट गर्ने र मनका बहहरु घर(माइती बिसाउने चलन छ । विवाह गरेर टाढा–टाढा पुगेका छोरीचेलीलाई माइतीले आदरसाथ निमन्त्रणा गर्ने र चेलीले माइती घरको आँगनीमा दुःख सुखका कुराहरु साटासाट गरेर तीज मनाउने चलन छ । कामविशेषले माइती आउन नपाएका चेलीले आफ्ना पतिको घरमा रमाइलोसँग तीज मनाउने चलन छ ।
समयको परिवर्तनसँगै नेपाली समाजमा नारीलाई हेर्ने दृष्टिकोण पनि व्यापक परिवर्तन आएको छ । १० वर्षको शसस्त्र विद्रोह, नेपाली युवाहरूको वैदेशिक यात्रा, आर्थिक उन्नति र शैक्षिक गुणस्तरमा वृद्धिसँगै जीवन शैली फेरिएको छ । फेरिएको जीवन शैलीसँगै चाडबाड मनाउने प्रचलनमा पनि व्यापक फेरबदल आएको छ । तिजको दर खाने दिनको स्वरुपमा पनि परिवर्तन आएको छ । केही वर्ष यता तिजको दरखाने र खुवाउने परिपाटी फराकिलो बनेको छ । अब यो तिजको अघिल्लो दिन मात्रै नभएर महिनौ चल्न थालेको छ । आजभोलि दरको नाममा महिनौँदेखि रमाउन थालेका छन् । विभिन्न फेसन, र सजिसजावटले रङगिन थालेका छन् । दरकै नाममा व्यस्त पनि हुन थालेका छन् । यसले समाजमा हुर्कदै गरेका नयाँ पुस्तामा ठूलो विकृति ल्याएको छ । तीजको दरखाने प्रचलनमा आएको परिवर्तनलाई सकारात्मक तर्कले भन्दा नकारात्मक तर्कले विश्लेषण गर्ने जमात ठुलो छ ।